संसद्मा अमर्यादित गतिविधि र भौतिक क्षति पुर्याउने सांसदहरूमाथि कारबाहीको तयारी, छानबिन समिति गठन
काठमाडौँ, १८ जेठ । प्रतिनिधिसभा बैठकमा अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गर्ने तथा संसद् भवनभित्र भौतिक क्षति पुर्याउने सांसदहरूमाथि सभामुख डिपी अर्यालले कारबाहीको तयारी गर्नुभएको छ। संसद्मा भएको सो घटनाको सत्यतथ्य छानबिन गर्न प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले घटनाबारे छानबिन गर्न समिति गठन गरिएको सदनलाई जानकारी गराउनुभयो।
सभामुख अर्यालले भन्नुभयो, “सदनमा अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गर्ने तथा भौतिक हानि–नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत भएको व्यहोरा प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम बैठक समाप्त भइसकेपछि मलाई विस्तृत जानकारी प्राप्त हुन आएको छ। सो विषयको मुचुल्का समेत आजै तयार भइसकेको छ।”
सभामुखका अनुसार गठित छानबिन समितिमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्।
समितिलाई घटनाको सूक्ष्म अध्ययन गरी प्रतिवेदन पेस गर्न सात दिनको समय दिइएको छ। समितिले बुझाउने प्रतिवेदनका आधारमा दोषी सांसदहरूमाथि नियमावली अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।