इजरायलले आक्रमण गर्ने चेतावनी दिएपछि बेरुतमा भागदौड, अमेरिकाद्वारा युद्धविरामको नयाँ प्रस्ताव
बेरुत (एजेन्सी), १८ जेठ । इजरायली सरकारले लेबनानको राजधानी बेरुतका दक्षिणी उपनगरहरूमा भिषण आक्रमण गर्ने आदेश दिएपछि हजारौँको संख्यामा सर्वसाधारणहरूले उक्त क्षेत्र छोड्न थालेका छन्। लेबनानी सशस्त्र समूह हेजबुल्लाहको बलियो प्रभाव रहेको ‘दाहिएह’ क्षेत्रमा इजरायलले नयाँ सैन्य कारबाही सुरु गर्ने घोषणा गरेसँगै त्यहाँबाट बाहिरिने सडकहरूमा सवारी साधनको ताँती लागेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले सोमबार बिहान एक संयुक्त विज्ञप्ति जारी गर्दै दक्षिणी बेरुतमा आक्रमणको निर्देशन दिएका हुन्। यो आदेशसँगै मानिसहरू आफ्ना सरसामान पोको पारेर सुरक्षित स्थानतर्फ लाग्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सरकारी आश्रयस्थलहरू पहिले नै भरिभराउ भएका कारण धेरै विस्थापितहरू आफ्नै गाडीमा रात बिताउन बाध्य छन्।
‘बेरुतमा शान्ति हुनेछैन’
इजरायली रक्षामन्त्री काट्जले हेजबुल्लाहले आक्रमण नरोकेसम्म बेरुतमा पनि शान्ति नहुने चेतावनी दिएका छन्। उनले भनेका छन्, “यदि इजरायलको उत्तरी क्षेत्रमा शान्ति हुँदैन भने दाहिएह (बेरुत) मा पनि शान्ति हुने छैन।” इजरायली सेनाले दक्षिणी लेबनानको लिटानी नदी क्षेत्रलाई हतियार र लडाकुमुक्त बनाउन त्यहाँ सैन्य नियन्त्रण कायम गर्ने लक्ष्य राखेको छ।
आइतबार मात्रै इजरायली सेनाले लिटानी नदीको उत्तरमा रहेको ऐतिहासिक ब्युफोर्ट किल्ला (Beaufort Castle) कब्जा गरेको थियो। प्रधानमन्त्री नेतान्याहुले यसलाई लेबनानविरुद्धको अभियानमा ‘नाटकीय मोड’ को संज्ञा दिँदै सेनालाई अझ भित्रसम्म प्रवेश गर्न निर्देशन दिएका छन्। सन् २००० मा लेबनान छोडेको २५ वर्षपछि इजरायली सेना यति गहिरो गरी लेबनानी भूभागमा प्रवेश गरेको यो पहिलो पटक हो।
अमेरिकाको नयाँ शान्ति प्रस्ताव
यसैबीच, वासिङ्टनले लेबनानमा जारी तनाव कम गर्न नयाँ प्रस्ताव अघि सारेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री नेतान्याहुसँग यस विषयमा छुट्टाछुट्टै छलफल गरेका छन्।
अमेरिकी प्रस्तावअनुसार, हेजबुल्लाहले इजरायलमाथि हुने सबै आक्रमणहरू रोक्नुपर्नेछ र त्यसको बदलामा इजरायलले बेरुतमा थप आक्रमण नगर्ने प्रतिवद्धता जनाउनुपर्नेछ। अमेरिकाले लेबनानमा भइरहेको द्वन्द्वका लागि इरान र हेजबुल्लाहलाई जिम्मेवार ठहर्याउँदै तत्काल युद्धविराम गर्न आग्रह गरेको छ।
मानवीय संकट र अन्तर्राष्ट्रिय निन्दा
मार्च २ देखि सुरु भएको यो भीषण द्वन्द्वका कारण लेबनानमा हालसम्म १० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी हालसम्म ३ हजार ४१२ जनाको मृत्यु भइसकेको छ भने १० हजारभन्दा बढी घाइते भएका छन्।
इजरायलको पछिल्लो कदमको विश्वभर निन्दा भइरहेको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यो आक्रमणको कुनै औचित्य नरहेको बताएका छन् भने बेलायती विदेशमन्त्री यभेट कुपरले इजरायललाई सैन्य गतिविधि रोक्न र कूटनीतिलाई ठाउँ दिन आग्रह गरेकी छिन्। कतार, इजिप्ट र अन्य अरब राष्ट्रहरूले पनि इजरायली कारबाहीलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै तत्काल सेना फिर्ता गर्न माग गरेका छन्।(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)