अपाङ्गता भएकाहरुले गरे अन्नपूर्ण आधार शिविरको सफल पदयात्रा

म्याग्दी, ९ कात्तिक । अपाङ्गता भएका व्यक्तिहरुले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्मको सफल पदयात्रा गरेका छन्। अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा छ प्रकारका अपाङ्गता भएका नौ जनाले यो चुनौतीपूर्ण यात्रा पूरा गरेका हुन्।

कात्तिक ५ गते नारच्याङको हुमखोलादेखि पदयात्रा सुरु गर्नुभएका उहाँहरु आज सकुशल फर्कनुभएको सञ्जालका सचिव विशाल विकले जानकारी दिनुभयो।

पदयात्रामा चोमु शेर्पा खुसी, ईश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, विशाल विक, भीम गुरुङ, वासु थकाली सहभागी हुनुहुन्थ्यो। उहाँहरुको सहयोगीका रूपमा बन्दना राईले साथ दिनुभएको थियो।

“अपाङ्गतामैत्री नीति र भौतिक संरचना निर्माण तथा पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको पदयात्रा सफल भएको छ,” सञ्जालका सचिव विकले भन्नुभयो, “आधार शिविरको यात्रा निकै रोमाञ्चक भयो। साथीहरु सहजै तरिकाले आधार शिविर पुग्नुभयो। कतिपय स्थानको पदमार्ग र बस्ने होटल अपाङ्गमैत्री नभएको पाइयो। अपाङ्गता भएका व्यक्तिहरु पनि आधार शिविर पुग्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएका छौँ।”

मौरिस हर्जोग पदमार्ग हुँदै २२ किलोमिटर दूरीको पदयात्रा गरेर आधार शिविर पुगेका उहाँहरु सकुशल फर्किनुभएको छ। पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा यस शरद्याममा उल्लेख्य सङ्ख्यामा पर्यटक आएका छन्।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ।