मौसम सुधार भएपछि मनाङको जनजीवन सहज बन्दै, पर्यटक फर्काउने क्रम जारी

मनाङ, १२ कात्तिक । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकहरूका लागि अवस्था सहज बन्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभएअनुसार, मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र ८ नम्बर वडास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत थोराङ्ला भञ्ज्याङको पदयात्रामा आएका पर्यटकहरू यात्रामा असहज भएपछि फर्किन थालेका छन् । आज बिहानैदेखि सडकमा थुप्रिएको हिउँ हटाइएपछि पर्यटक फर्कन थालेका हुन् ।

पौड्यालले भन्नुभयो, “तिलिचो आधार शिविर (बेसक्याम्प) बाट सोमबार साँझ फर्किएका पर्यटक भने खाङ्सारमै बसेका छन् ।” काठमाडौँबाट तिलिचो ताल जान आएका पर्यटक शिवराज घिमिरेले खाङ्सार आइपुग्नेबित्तिकै हिमपात भएको र तालसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाङ्सार आइपुगिएको छ, यहाँ आइपुग्नेबित्तिकै हिमपात भयो, हिमपातका कारण हामी माथि तालसम्म पुग्न सकेनौँ ।” मौसम अनुकूल बन्दै गए पनि माथिल्लो क्षेत्रको यात्रा नगरी फर्कने तयारी गरिरहेको घिमिरेले बताउनुभयो ।

खाङ्सारदेखि तल्लो क्षेत्र र माथि तिलिचोतर्फ मौसम विस्तारै खुल्दै गएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै मकवानपुरबाट तिलिचो तालको पदयात्रामा आउनुभएका मोहन ढकालले भन्नुभयो, “तिलिचो आधार शिविरबाट फर्किएर हुम्देमा बस्यौँ, अहिले मौसममा सुधार आएपछि फर्कदैछौँ । मौसम पनि सुधार भएको छ, तर सवारीसाधन पाउन सकस भएको छ । दुईपाङ्ग्रे सवारीसाधन चलाउन सक्ने अवस्थामा छैन । यहाँका प्रशासन, स्थानीय तहलगायत सुरक्षा निकाय यात्रा सहज बनाउने प्रयासमा जुटिरहनुभएको छ ।” मौसमको जानकारीबिना हिमाली क्षेत्रको यात्रा सहज नरहेको उहाँको भनाइ छ ।

होटल व्यवस्थापन समिति माथिल्लो मनाङका अध्यक्ष कर्म ओङ्गेल घलेले तिलिचो क्षेत्रबाट झरेका झण्डै दुई सय पर्यटकलाई निजी घर, होटलका कोठा, डाइनिङलगायत ठाउँमा मङ्गलबार राति बस्ने व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातका बीच पनि व्यवस्थापन गर्दै भ्राकासम्म पर्यटक पठाएर बस्ने व्यवस्था गरिएको थियो ।

पर्यटक आज बिहानैदेखि चामेतर्फ गएको पर्यटन व्यवसायी घ्याम्चो गुरुङले जानकारी दिनुभयो । “मौसम केही मात्रामा खुलेको छ, बादल हट्ने क्रममा देखिएको छ, हल्का घाम पनि देखिँदैछ,” उहाँले भन्नुभयोे, “केही आफ्नो मोटरसाइकलमा गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटकलाई जिपमा व्यवस्थापन गर्दै तल्लो क्षेत्रतर्फ लागेका छन्, केही भने यहीँ छन् ।” उहाँका अनुसार थोराङ्ला पास गर्न आएका केही विदेशी पर्यटक फर्किएका छन् । हालसम्म माथिल्लो मनाङ गाउँबाट एक सय ५० जति पर्यटक फर्किएको उहाँले बताउनुभयो ।

जिल्ला विपद व्यवस्थापन समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौड्यालले हिमपातमा फसेका पर्यटकको उद्धारमा जिल्लामा उपलब्ध भएका सवारीसाधनको उपयोग गरी गन्तव्यतर्फ जाने वातावरण बनाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मौसममा सुधार आएपछि एक्साभेटरले काम गर्न र यात्रामा सहज बन्दै गएको छ । दुईपाङ्ग्रे सवारीसाधनलाई यात्रामा सुरक्षित भएर सञ्चालन गर्न सुझावसहित हिँड्न दिएका छौँ ।”

फर्कनका निम्ति अप्ठ्यारोमा परेका पर्यटकलाई चामेसम्म निजी, सार्वजनिक तथा सरकारी सवारीसाधनको उपयोग गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो । सडक सञ्चालनका लागि जिल्ला प्रशासन, स्थानीय तहलगायत सबै लागिपरेका छन् । अधिकांश स्वदेशी पर्यटक दुईपाङ्ग्रे सवारीसाधनमा खाङ्सारसम्म आउने र पदयात्रामार्फत तिलिचो ताल जाने गर्दछन् । विदेशी पर्यटक भने पदयात्रामा रमाउने भएकाले सुरक्षित अवस्थामा रहेका छन् । दुईपाङ्ग्रे सवारीसाधन हिउँबाट निकालिएका छन् ।