एमालेका सरोज यादव ठूलो दलको हैसियतमा मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त
काठमाडौँ, २४ कात्तिक । नेकपा एमाले संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान बर्दिबासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी हुन्।
मुख्यमन्त्री यादवले आफूसहित चार जना मन्त्रीले प्रदेश प्रमुखबाट शपथ लिएको जानकारी दिएका छन्। ‘म हिजो बेलुकी नै मुख्यमन्त्री नियुक्त भएको हुँ,’ उनले भने, ‘प्रदेश प्रमुखज्यू बिरामी भएर काठमाडौँ जान लाग्नुभएकाले हतारहतार होटलमै शपथ लिएका हौँ।’
संविधानको धारा १६८ (३) बमोजिम सरोज यादव प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मधेश प्रदेशको मुख्यमन्त्री बनेका हुन्।
यसअघि, पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि केही दिनअघि पदबाट राजीनामा दिएका थिए।
प्रदेश प्रमुख भण्डारी अस्वस्थताका कारण सोमबार बिहानै जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी थिइन्।