प्रहरीको गोलीबाट किशोरको मृत्यु भएपछि सिराहामा तनाव : प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध आफन्तको प्रदर्शन
सिराहा, १५ साउन । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय किशोर गणेश यादवका आफन्त र स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन् ।
दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै उनीहरूले आज प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध चर्को प्रदर्शन गरेका हुन् ।
औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको बिहीबार गोलबजारमा भएको झडपका क्रममा घाँटीमा गोली लागेर मृत्यु भएको थियो । गृहमन्त्री सुधन गुरुङ मृतकका परिवारलाई भेट्न आउने जानकारी पाएपछि आक्रोशित स्थानीयले सिराहाको बनिनिया चोकमा जम्मा भएर विरोध प्रदर्शन सुरु गरेका छन् ।
प्रदर्शनकारीहरूले पीडित परिवारले न्याय नपाउन्जेल र घटनाको निष्पक्ष छानबिन नभएसम्म गृहमन्त्रीलाई जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् । उनीहरूले हातमा प्लेकार्ड बोकेर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
बिहीबारको झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर किशोरको ज्यान गएपछि सिराहाको सुरक्षा अवस्था निकै संवेदनशील बनेको छ । प्रदर्शनका कारण सडकमा सवारी आवागमन समेत प्रभावित भएको छ । स्थिति नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन उक्त क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले भने नागरिकको ज्यान लिने गरी भएको बल प्रयोगको औचित्यमाथि प्रश्न उठाउँदै न्यायको माग गरिरहेका छन् ।