‘उजुरी पर्खिएर समस्या कुर्नु हुँदैन : सम्भावित जोखिमको पहिल्यै समाधान खोजौँ’ – कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ,  साउन १५ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकले दुःख गरेर आर्जन गरेको सम्पत्तिको सुरक्षाका लागि उजुरी पर्खिएर नबस्न र सम्भावित समस्याको समाधानका लागि पहिल्यै कानुनी तथा प्रशासनिक उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ ।

सहकारी विभागको वार्षिक प्रगति प्रतिवेदनमाथिको छलफलमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “नागरिकको सम्पत्ति सुरक्षाका लागि व्यावहारिक र प्रशासनिक सबै खालका उपाय अबलम्बन गर्नुपर्छ । उजुरी पर्खिएर समस्या कुर्नु हुँदैन, बरु सम्भावित समस्याको पहिचान गरी समाधानका लागि पूर्वतयारीका साथ काम गर्नुपर्छ ।” उहाँले चालु आर्थिक वर्षमा बचतकर्ताको हित संरक्षण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न विभागीय अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

सो अवसरमा प्रस्तुत तथ्याङ्क अनुसार काठमाडौँ महानगरको कार्यक्षेत्रभित्र रहेका १ हजार ९१२ सहकारीमध्ये गएको वर्ष जम्मा ६६७ वटा मात्र नवीकरण भएका छन्। यो विवरणले आधाभन्दा बढी सहकारीहरू नियमन र सम्पर्कभन्दा बाहिर रहेको देखाएको छ ।

महानगरको सहकारी विभागमा हालसम्म १० हजार २३४ जना बचतकर्ताले आफ्नो ८ अर्ब १९ करोड ५८ लाख २६ हजार ८२६ रुपैयाँ बचत फिर्ताको माग गर्दै उजुरी दिएका छन् । बचतकर्ताको अर्बौँ रकम जोखिममा परेपछि महानगरले ९१५ वटा सहकारीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पत्राचार गरेको छ भने १८७ वटा संस्थालाई थप कारबाहीका लागि सिफारिस गरेको छ ।

विभागीय प्रमुख ध्रुवकुमार काफ्लेले विभागले नियमनसँगै १०३ वटा सहकारीका १ हजार ७१२ जना ऋणीलाई ऋण तिर्न सहजीकरण गरेको र ५८ वटा सहकारीमा बचतकर्ता र सञ्चालकबीच मेलमिलाप गराएको जानकारी दिनुभयो। उहाँका अनुसार केही सहकारीले विदेशी नागरिकलाई सदस्य बनाएर ४४ करोड रुपैयाँभन्दा बढी बचत संकलन गरेको भेटिएपछि त्यस्ता कार्यमा रोक लगाइएको छ ।

महानगरले सहकारी क्षेत्रमा हुने बचत हिनामिना, धितोको अस्वाभाविक मूल्याङ्कन र कीर्ते कागजात जस्ता १८ प्रकारका कार्यलाई ‘गम्भीर कसुर’ मान्दै सञ्चालकहरूलाई कानुनी कठघरामा ल्याउने सक्रियता बढाएको छ । सहकारीको वित्तीय सुशासनका लागि सघन अनुगमन र निरीक्षणलाई यस वर्ष अझै तीव्र पारिने विभागले जनाएको छ ।