सुनसरी घटनाकाे ६ दिनपछि मेहताद्वयको शव बुझियो, अन्त्येष्टिको तयारी

विराटनगर, १६ साउन । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक झडपमा ज्यान गुमाएका दुई युवकको शव छ दिनपछि परिवारले बुझेका छन् । गत साउन १० गते कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले कोशी अस्पताल, विराटनगरबाट बुझेका हुन् ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो । झडपका क्रममा प्रहरीको गोली लागेर ओमप्रकाशको घटनास्थलमै र गम्भीर घाइते भएका जयप्रकाशको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।

अस्पतालबाट बुझिएको शवलाई एम्बुलेन्समार्फत देवानगञ्जस्थित उनीहरूको निजी निवास लगिएको छ । परिवारका सदस्य र स्थानीयको उपस्थितिमा आजै राति वा शनिबार बिहानसम्म अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

यसअघि पीडित परिवारले विभिन्न माग राखी शव बुझ्न अस्वीकार गर्दै आएका थिए । सरकारले मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, १० लाख रुपैयाँ राहत दिने र परिवारका एक सदस्यलाई रोजगारी दिने लगायतका मागमा लिखित सहमति गरेपछि अवरोध हटेको हो । यो सहमतिसँगै सुनसरीमा केही दिनदेखि चुलिएको तनाव क्रमशः मत्थर हुने अपेक्षा गरिएको छ ।