मुलुकमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न राष्ट्रियसभामा सांसदहरूको अपिल

काठमाडौँ, १५ साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र जातीय एकता कायम राख्न जोडदार अपिल गर्नुभएको छ । बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सुनसरीमा हालै भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै साम्प्रदायिक सद्भाव खलबलिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरीको घटनाले समाजको वर्षौँदेखिको सद्भाव बिथोल्ने खतरा बढेको बताउनुभयो । उहाँले धार्मिक द्वन्द्वले मुलुकलाई अस्थिरतातर्फ लैजाने भएकाले राष्ट्रिय एकताका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिँदै सरकारले तत्काल यसको दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्नुभयो ।

अर्का सांसद पूजा चौधरीले नेपालमा हिन्दू, मुस्लिम, सिख, बौद्ध र इसाई लगायत सबै धर्मावलम्बीहरू लामो समयदेखि भाइचाराको सम्बन्धमा रहँदै आएको स्मरण गराउनुभयो । उहाँले यो ऐतिहासिक एकतालाई कायम राख्नु सबै नागरिक र राज्यको दायित्व भएको बताउनुभयो ।

सांसद जयन्तीदेवी राईले साउन ११ गते डिजे बाजा र धार्मिक झण्डाको विषयलाई लिएर सुरु भएको विवादले हिंसात्मक रूप लिनुमा सरकारको कमजोरी रहेको औँल्याउनुभयो । उहाँले दङ्गा भड्किनुपूर्व नै सरकारले आवश्यक सुरक्षा सतर्कता र समाधानको बाटो रोज्नुपर्नेमा त्यसो हुन नसकेको टिप्पणी गर्नुभयो ।

सांसद रोश्नी मेचेले मुलुक सबै जातजातिको साझा फूलबारी भएको उल्लेख गर्दै पीडित परिवारलाई पूर्ण न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । यसैगरी, सांसद तुलप्रसाद विश्वकर्माले सम्पूर्ण देशवासीलाई संयमित रहन र जातीय वा धार्मिक हिंसा भड्काउने खालका कुनै पनि गतिविधिमा सहभागी नहुन आग्रह गर्नुभयो । उहाँले सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव अन्यत्र फैलिन नदिन सरकारले बेलैमा प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।

पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण परिस्थितिलाई लिएर सांसदहरूले संसद्मार्फत सरकारलाई उच्च सतर्कता अपनाउन र नागरिक समाजसँगको समन्वयमा सद्भाव र्‍याली तथा शान्तिपूर्ण सन्देश प्रवाह गर्न समेत आग्रह गरेका छन् ।