एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
काठमाडौँ, २ मङ्सिर । कीर्तिपुरमा जारी ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) को दोस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा व्यापक चासो सिर्जना गरेको छ। नेपालको फ्रेन्चाइज क्रिकेटले विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्महरूमा स्थान पाउँदै अन्तर्राष्ट्रियस्तरमा ध्यान खिचेको हो।
भारत र पाकिस्तानका क्रिकेट ‘फ्यान-पोर्टल’ तथा क्षेत्रीय वेबसाइटहरूले एनपिएललाई विशेष स्थान दिँदै चर्चा गरेका छन्। भारतमा स्टार स्पोर्ट्समार्फत एनपिएलको प्रत्यक्ष प्रसारण भइरहेको छ, साथै ‘फनकोड डटकम’ जस्ता प्लेटफर्ममा पनि यसको लाइभ स्ट्रिमिङ भइरहेको छ।
संयुक्त अधिराज्य बेलायतस्थित ‘क्रिकेट वर्ल्ड डटकम’ ले एनपिएल-२ का टोली, खेलाडी र विदेशी खेलाडीबारे विस्तृत सामग्री प्रकाशित गरेको छ। फाफ डू प्लेसिस, जेसन रोय र इमरान ताहिरजस्ता अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले नेपालको फ्रेन्चाइज क्रिकेटको स्तरवृद्धि भएको र एनपिएल दक्षिण एसियाली टी-२० संरचनामा उदाउँदै गरेको नयाँ अवसरका रूपमा चर्चा गरिएको छ। बीबीसी नेपाली सेवाले सोमबारको ‘साँझपख’ कार्यक्रममा उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई काठमाडौँ गोर्खाजले पराजित गरेको र क्रिकेटप्रेमीको उत्साहबारे समाचार सम्प्रेषण गरेको थियो।
बेलायतको क्रिकेट प्लेटफर्म ‘विस्डेन डटकम’ ले यसपटक एनपिएलको प्रसारण ढाँचामा आएको परिवर्तनलाई व्याख्या गरेको छ। यस प्रकारको अन्तर्राष्ट्रिय स्थानले नेपाली क्रिकेट अब क्षेत्रीयस्तरमा प्रतिस्पर्धी बन्दै गएको संकेत मिलेको मान्न सकिन्छ।