हुम्लामा साढे ९५ लाख लागतमा आँखा उपचार केन्द्रको आधुनिक भवन निर्माण
काठमाडौँ, मंसिर १० । हुम्लाबासीले अब जिल्ला सदरमुकाम सिमकोटबाटै भरपर्दो र गुणस्तरीय आँखा उपचार सेवा पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हुम्ला जिल्ला आँखा उपचार केन्द्रको सुविधासम्पन्न पक्की भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाह थप प्रभावकारी हुने भएको हो ।
करिब ९५ लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण भएको यो आधुनिक भवनका लागि आइकेयर फाउन्डेसनले ६४ लाख ६८ हजार ८६३ रुपियाँ सहयोग गरेको छ। त्यस्तै, भवन निर्माणमा कर्णाली प्रदेश सरकारले सिमकोट गाउँपालिकामार्फत ३० लाख रुपैयाँ सशर्त अनुदान उपलब्ध गराएको थियो भने नेत्रज्योति सङ्घ चितवन शाखाले एक लाख रुपैयाँ सहयोग गरेको छ।
नवनिर्मित भवनको तल्लो तलामा सेवाग्राहीका लागि सेवा कक्ष, अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेसन थिएटर), परामर्श कक्ष, प्रतीक्षा कक्ष र आवश्यक उपकरणहरू जडान गरिएको छ । माथिल्लो तलामा भने कर्मचारी आवास तथा प्रशासनिक प्रयोजनका लागि कोठाहरू व्यवस्था गरिएको उपचार केन्द्रले जनाएको छ ।
नयाँ संरचना तयार भएसँगै अब मोतियाविन्दुको शल्यक्रिया, दृष्टि परीक्षण, बालबालिकाको आँखा उपचार तथा आँखाको सङ्क्रमणलगायतका सेवाहरू व्यवस्थित रूपमा सञ्चालन हुनेछन् । केन्द्रका प्रमुख बुम बोहराका अनुसार, आधुनिक भवनले हरेक वर्ष सहयोगी संस्थाहरूको समन्वयमा सञ्चालन हुने निःशुल्क आँखा शिविर र शल्यक्रिया सेवालाई थप सहज र सुगम बनाउनेछ ।
नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दले अब कर्णालीका दुर्गम बस्तीहरूमा पनि प्रविधिको प्रयोग गर्दै ‘मोबाइल एप्स’ मार्फत आँखाको प्रारम्भिक परीक्षण सेवा विस्तार गरिने योजना सुनाउनुभयो ।
यस्तै, सङ्घका कर्णाली प्रदेश सभापति एवं केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले सामान्य अवस्थाबाट सुरु भएको सेवा आज आधुनिक संरचना र उपकरणसहित विस्तार हुनु हुम्लावासीको भरोसा र संस्थाको प्रतिबद्धताको नतिजा भएको बताउनुभयो । आइकेयर फाउन्डेसन नेपालका अनिल गोरखालीले भवन सञ्चालनमा आएसँगै हुम्लालीहरूले आधारभूत आँखा उपचारमा सहज पहुँच पाउने विश्वास व्यक्त गर्नुभयो ।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले गुणस्तरीय आँखा उपचारका लागि अब महँगो खर्च गरेर बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै गाउँपालिकाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, हिमालय आँखा अस्पतालका प्राध्यापक डा. ज्ञानबहादुर कार्की, राप्रपा नेपालका जिल्ला अध्यक्ष विकास महत, नेपाल रेडक्रस सोसाइटी हुम्लाका सभापति गणेश महत तथा पत्रकार महासङ्घका उपसभापति छपाल लामालगायतले नयाँ भवनबाट प्रवाह हुने सेवाले जिल्लावासीलाई ठुलो राहत मिल्ने धारणा राख्नुभएको थियो ।
नेत्रज्योति सङ्घ हुम्लाका सभापति नरबहादुर रोकायाले लामो प्रयास र विभिन्न निकायको सहकार्यमा भवन निर्माण सम्भव भएको बताउँदै बाँकी आवश्यक उपकरण र पूर्वाधार व्यवस्थापनका लागि अझै सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो ।