काठमाडौँमा तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने

काठमाडौँ,  असार ३२ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजनामा आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौँमा ‘तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन’ आयोजना हुने भएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा हुने यस सम्मेलनमा तामाङ पत्रकार सङ्घ, किरात राई पत्रकार सङ्घ, तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ, थारु पत्रकार सङ्घ नेपाल, मगर पत्रकार सङ्घ, लिम्बू पत्रकार सङ्घ र शेर्पा सञ्चार समूह सहआयोजकका रूपमा रहनेछन् ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२२-२०३२ लाई ‘आदिवासी भाषाको अन्तरराष्ट्रिय दशक’ घोषणा गरेको सन्दर्भमा विश्व आदिवासी दिवस तथा फोनिजको २७औँ स्थापना दिवसको अवसर पारेर यो कार्यक्रम गर्न लागिएको हो । फोनिजका अध्यक्ष लक्की चौधरीका अनुसार सम्मेलनको समापनमा मातृभाषा पत्रकारिताको संरक्षण, प्रवर्द्धन, नीतिगत सुधार र भाषिक अधिकार सुनिश्चितताका लागि साझा प्रतिबद्धता समेटिएको ‘काठमाडौँ घोषणापत्र’ जारी गरिनेछ ।

सम्मेलनले नेपालसहित विश्वभरका आदिवासी मातृभाषा पत्रकारहरूबीच अनुभव आदानप्रदान, अन्तरराष्ट्रिय सहकार्य र साझा अभियान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । फोनिजका महासचिव मिलन बलमीका अनुसार सम्मेलनमा डिजिटल युगमा मातृभाषा सञ्चारको भविष्य, सञ्चार नीतिमा समावेशिता, पत्रकारहरूको पेसागत सुरक्षा र जलवायु न्यायमा सञ्चारमाध्यमको भूमिका जस्ता विषयमा सघन छलफल हुनेछ ।

यसका साथै सम्मेलनमा आदिवासी समुदायको जल, जमिन, जङ्गल र प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा जलवायु परिवर्तनले उनीहरूको जीवनमा पारेको प्रभावबारे समेत सत्रहरू सञ्चालन गरिनेछन् ।

सहभागिता र प्रतिनिधित्व
सम्मेलनमा २७ देशका करिब ६० जना अन्तरराष्ट्रिय मातृभाषी पत्रकारसहित ५ सय भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहने आयोजकले जनाएको छ । यसमा फोनिजका देशभरका शाखाबाट ३ सय, नेवाः पत्रकार राष्ट्रिय दबुबाट ४० र विभिन्न जातीय पत्रकार सङ्गठनहरूबाट १ सय जना प्रतिनिधिको सहभागिता रहनेछ ।

नेपाल जस्तो बहुभाषिक मुलुकमा धेरै मातृभाषाहरू लोपोन्मुख अवस्थामा पुगेको र मूलधारका सञ्चारमाध्यममा आदिवासीका आवाज पर्याप्त रूपमा समेटिन नसकेको परिप्रेक्ष्यमा यो सम्मेलनले राष्ट्रिय र अन्तरराष्ट्रिय तहमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ । यसैबीच, फोनिजले मधेस र लुम्बिनी प्रदेशमा पत्रकारहरूका लागि ‘फेलोसिप’ (शोधवृत्ति) कार्यक्रम समेत सञ्चालन गर्ने जानकारी दिएको छ ।