स्मार्ट लाइसेन्स छपाइमा ऐतिहासिक सफलता: २७ लाख ‘ब्याकलग’ अन्त्य, अब २४ घण्टाभित्रै अनुमतिपत्र तयार

काठमाडौँ, ३२ असार । सार्वजनिक सेवा अन्तर्गत सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइको बाँकी काम पूर्ण रूपमा अन्त्य भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि थन्किएका सबै पुराना लाइसेन्सहरूको छपाइ सम्पन्न भएको र अब नयाँ अनुमतिपत्रका लागि आवेदन दिएको २४ घण्टाभित्रै कार्ड तयार हुने ‘फास्ट ट्र्याक’ प्रणाली कार्यान्वयनमा आएको घोषणा गरेको हो।

मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको रणनीतिक समझदारी अनुसार कुल २७ लाख थान स्मार्ट लाइसेन्स छपाइको चुनौतीपूर्ण लक्ष्य पुरा भएको छ। यस प्रक्रियालाई दुई चरणमा वर्गीकरण गरिएको थियो ।
पहिलो चरण: २०८२ कात्तिक १२ गतेको सम्झौता अनुसार १२ लाख अनुमतिपत्रको छपाइ सम्पन्न गरिएको थियो।
दोस्रो चरण: २०८३ वैशाख ४ गते थप १५ लाख अनुमतिपत्र छाप्ने सम्झौता भएकोमा, उक्त कार्य आज असार ३२ गते औपचारिक रूपमा सम्पन्न भएको हो।

यससँगै सेवाग्राहीले लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने झन्झटिलो अवस्थाको अन्त्य भई ‘डिजिटल गभर्नेन्स’ को क्षेत्रमा नयाँ आयाम थपिएको छ।

सुरक्षण मुद्रण केन्द्रले हाल आफ्नो कार्यक्षमतालाई उल्लेख्य रूपमा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने ३,००० देखि ५,००० वटा विवरण (Data) का आधारमा केन्द्रले २४ घण्टाभित्रै कार्ड छापेर विभागलाई हस्तान्तरण गर्दै आएको छ। यसको अर्थ, ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका वा नवीकरण गरेका चालकले अब प्राविधिक प्रक्रिया पुरा हुनासाथ अनुमतिपत्र प्राप्त गर्ने सुनिश्चितता भएको छ।

मन्त्रालयका अनुसार अब केन्द्रले सातै प्रदेश सरकारका यातायात मन्त्रालयहरूसँग समन्वय गरी स्थानीय स्तरमै छपाइ व्यवस्थापनका लागि सम्झौता गर्ने तयारी गरिरहेको छ। सुरक्षण मुद्रण केन्द्रको भावी योजनामा केवल सवारी लाइसेन्स मात्र सीमित छैन: नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, अन्तःशुल्क स्टिकर, हुलाक टिकट र जग्गाधनी प्रमाणपुर्जा जस्ता संवेदनशील सामग्री स्वदेशमै छाप्ने तयारी अन्तिम चरणमा पुगेको छ।

यस्ता सामग्रीहरू स्वदेशमै उत्पादन हुँदा वार्षिक अर्बौँ रुपैयाँ वैदेशिक मुद्रा बाहिरिनबाट जोगिनेछ भने स्वदेशी पुँजी र रोजगारी सिर्जनामा प्रत्यक्ष टेवा पुग्नेछ।