न्यायको अनुभूति र मनको हलुकापन : सुनिता डंगोलको नेतृत्वमा काठमाडौँको निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान ‘सहायता’
काठमाडौँ, असार ३२ । ‘जब एक असहाय सेवाग्राहीले आफ्नो मनको पीडालाई निवेदनको भाषामा उतार्न सकिन्छ भन्ने विश्वास पाउँछन्, तब उहाँहरूको अनुहारमा देखिने चमक नै हाम्रो सफलता हो । हामीले प्रदान गरेको यो सेवा हेर्दा सामान्य लाग्न सक्छ, तर यसले एउटा नागरिकको आर्थिक बोझ मात्र घटाएको छैन, उसको मनमा ‘मेरो लागि पनि कोही छ’ भन्ने आशा जगाएको छ ।”
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका यी शब्दहरूले महानगरले सञ्चालन गरिरहेको ‘निःशुल्क कानुनी तथा प्रशासनिक सेवा’को गहिरो प्रभावलाई चित्रण गर्छन् । सुनिताको परिकल्पनाले विगत ३९ महिनामा ९० हजारभन्दा बढी नागरिकको न्यायमा पहुँच पुर्याएको छ ।
पीडाबाट न्यायको बाटोतिर
कुनै समय काठमाडौँका वडा कार्यालयहरूमा पुग्ने धेरै सेवाग्राहीहरू अलमलमा पर्थे । कानुन नबुझ्ने, लेख्न नजान्ने वा प्रक्रियाका बारेमा जानकारी नहुँदा उनीहरू बिचौलियाको शरणमा पुग्न बाध्य थिए । तर, २०७९ चैत १ गतेदेखि सुरु भएको न्यायिक सहजकर्ताको व्यवस्थाले यो चित्र पुरै बदलिदिएको छ ।
महानगरले नेपाल ल क्याम्पससँग सम्झौता गरी कानुनका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई हरेक वडामा खटाएको छ । यी युवा सहजकर्ताहरूले केवल निवेदन मात्र लेख्दैनन्, उनीहरूले पीडितका आँसुलाई कानुनी अक्षरमा बदल्छन् र न्यायको प्रक्रिया बुझाउँछन् ।
नतिजा : तथ्याङ्कभन्दा माथि मानवीय भावना
गत ३९ महिनामा ९० हजार सेवाग्राहीले यो सेवा लिएका छन् । चालु आर्थिक वर्षमा मात्रै असार २२ गतेसम्म २२ हजार १३० जनाले निःशुल्क कानुनी सेवा प्राप्त गरे । कार्यवाहक प्रमुख डंगोल भन्नुहुन्छ, ‘हाम्रा लागि ९० हजारको संख्या मात्र ठुलो होइन, ती ९० हजार मानिसले महसुस गरेको ‘मनको हलुकापन’ महत्वपूर्ण हो । आर्थिक अभावकै कारण कसैले न्यायको ढोका ढक्ढक्याउन डराउनु पर्ने अवस्थाको अन्त्य गर्नु नै हाम्रो मुख्य उद्देश्य हो ।’
अहिले काठमाडौँका ३२ वटै वडा र केन्द्रमा एक–एक जना न्यायिक सहजकर्ता उपलब्ध छन् । उनीहरूले सामान्य निवेदन, उजुरी, फिराद पत्र, प्रतिउत्तर पत्र र लिखित जवाफका मस्यौदा निःशुल्क तयार पारिदिन्छन् । सेवालाई यति मर्यादित बनाइएको छ कि सहजकर्ताहरूलाई सेवाग्राहीबाट कुनै पनि प्रकारको उपहार वा शुल्क लिन पूर्ण निषेध गरिएको छ ।
युवा उत्साह र कानुनी साक्षरता
हाल पाँचौँ संस्करणका रूपमा कानुनका विद्यार्थीहरूले यो सेवा प्रवाह गरिरहेका छन् । यसले एकातिर विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान मिलेको छ भने अर्कोतिर महानगरको सेवामा एकरूपता आएको छ । कानुनी लिखतहरू शिष्ट, सभ्य र कानुनसम्मत हुने भएकाले प्रशासनिक झन्झट पनि कम भएको छ ।
महानगरले केवल लिखतमा मात्र सीमित नरही वडा स्तरमा १५३ जना मेलमिलापकर्तामार्फत विवाद समाधानको प्रयास पनि गरिरहेको छ । वडा महिला सञ्जालमार्फत कानुनी साक्षरता र सचेतनाका कामहरू भइरहेका छन्, जसले समाजमा न्यायको जग बलियो बनाउँदै लगेको छ ।
भविष्यको आशा
कार्यवाहक प्रमुख डंगोलको नेतृत्वमा काठमाडौँ महानगरपालिकाले देखाएको यो बाटो अन्य स्थानीय तहका लागि पनि प्रेरणाको स्रोत बनेको छ । ‘कोही पनि एक्लो छैन, महानगर तपाईंको साथमा छ’ भन्ने सन्देशलाई यी ३९ महिनाका उपलब्धिलाई सार्थक बनाएका छन् ।
जब राज्यको तल्लो निकायले नागरिकको हात समातेर ‘म लेखिदिन्छु, म बुझाइदिन्छु’ भन्छ, तब मात्र वास्तविक लोकतन्त्रको महसुस हुन्छ । काठमाडौँ महानगरको यो निःशुल्क कानुनी सेवाले आज हजारौँको मनको बोझ उतारेर न्यायको उज्यालो छरिरहेको छ ।