पोखरामा ‘आइटिएफ जे ३०’ टेनिस सुरु : १६ राष्ट्रका ८० खेलाडी उपाधिका लागि भिड्दै
काठमाडौँ, मंसिर १५ । पर्यटकीय राजधानी पोखरामा आजदेखि अन्तर्राष्ट्रिय स्तरको ‘आइटिएफ जे ३० टेनिस’ प्रतियोगिता सुरु भएको छ । अन्तर्राष्ट्रिय टेनिस महासङ्घको मान्यता प्राप्त र कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सुरु भएको यो प्रतियोगिताको आठौँ संस्करण हो ।
पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित १६ राष्ट्रका ८० जना खेलाडीको सहभागिता रहेको छ । आयोजकका अनुसार १३ देखि १८ वर्ष उमेर समूहका ५५ छात्र र २५ छात्रा खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आयोजक नेपालका साथै भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, न्युजिल्याण्ड, ताइवान, बङ्गलादेश, क्यानडा, कोरिया, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीहरू सहभागी छन् ।
प्रतियोगिता संयोजक अजय विष्टका अनुसार ‘ब्वाइज’ र ‘गर्ल्स’ तर्फ सिंगल्स र डबल्स गरी चार विधामा खेलहरू हुनेछन्। सिंगल्सतर्फका विजेताले ३० अङ्क, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वाटरफाइनलिस्टले ५ र अन्तिम १६ मा पुग्नेले २ अङ्क प्राप्त गर्नेछन्। डबल्सतर्फ भने विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिस्टले ६ र क्वाटरफाइनलिस्टले ३ अङ्क पाउने व्यवस्था गरिएको छ। विजेता खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि ‘हब’ बन्दै गएको बताउनुभयो । उहाँले टेनिस जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पर्यटन बोर्डले सहकार्य गरेको उल्लेख गर्नुभयो ।
कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङले देशको विषम परिस्थितिका बाबजुद १६ वटा देशका खेलाडीहरू पोखरा आएर खेल्नु गौरवको विषय भएको बताउनुभयो । यस्तै, सङ्घका सचिव भीष्मराज पौडेलले विगतका संस्करणहरूको सफल व्यवस्थापनका कारण विदेशी खेलाडीहरू पोखरामा खेल्न सधैं उत्साहित हुने गरेको अनुभव सुनाउनुभयो ।