एसियाली मुलुकमा बाढीबाट मृत्यु हुनेको संख्या हजार नजिक : सेनाद्वारा उद्धार तीव्र
काठमाडौँ, मंसिर १५ । श्रीलङ्का, इन्डोनेसिया, थाइल्यान्ड र मलेसियामा आएको विनाशकारी बाढीका कारण एसियाली क्षेत्रमा ठूलो मानवीय सङ्कट उत्पन्न भएको छ। हालसम्म यी देशहरूमा गरी मृत्यु हुनेको सङ्ख्या एक हजारको नजिक पुगेको छ । विपद्को सामना गर्न प्रभावित देशहरूले सैन्य परिचालन गरी उद्धार र राहत कार्यलाई युद्धस्तरमा अघि बढाएका छन् ।
इन्डोनेसियामा बाढी र पहिरोबाट कम्तीमा ४४२ जनाको मृत्यु भएको छ भने सयौँ अझै बेपत्ता छन् । यो सन् २०१८ को भूकम्प र सुनामीपछिको सबैभन्दा ठूलो विपद् हो । सुमात्रा टापुको निरीक्षण गर्दै राष्ट्रपति प्रबोवो सुबिआन्तोले दुर्गम क्षेत्रमा तत्काल राहत पुर्याउन निर्देशन दिनुभएको छ । सडक सञ्जाल टुटेका कारण सरकारले प्रभावित क्षेत्रमा तीनवटा युद्धपोत र दुईवटा अस्पताल जहाज राहत सामग्रीसहित परिचालन गरेको छ ।
चक्रवात ‘दितवाह’ को प्रभावका कारण श्रीलङ्कामा ३४० जनाको मृत्यु भएको पुष्टि भएको छ। सन् २००४ को सुनामीपछिको यो सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । राष्ट्रपति अनुरा कुमार दिसानायकले यसलाई ऐतिहासिक चुनौती बताउँदै राष्ट्र पुनर्निर्माणको प्रतिबद्धता जनाउनुभएको छ । बाढीले वितण्डा मच्चाएपछि श्रीलङ्का सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल समेत गरेको छ ।
थाइल्यान्डको दक्षिणी क्षेत्रमा एक दशकयताकै भयानक बाढीका कारण १७६ जनाको ज्यान गएको छ । सरकारी उद्धार सुस्त भएको भन्दै जनआक्रोश बढेपछि लापरवाहीको आरोपमा दुई अधिकारीलाई निलम्बन गरिएको छ । उता मलेसियाको उत्तरी क्षेत्र (पर्लिस राज्य) मा पनि बाढीले जनजीवन प्रभावित बनाएको छ, जहाँ हालसम्म २ जनाको मृत्यु भएको छ ।
विज्ञहरूले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण वायुमण्डलमा ओसिलोपन बढ्दा अस्वाभाविक वर्षा र दुर्लभ उष्णकटिबन्धीय आँधीको प्रकोप बढेको विश्लेषण गरेका छन् ।