सप्तरी कारागारमा ड्युटीमै रहेका प्रहरी जवानमाथि गोली प्रहार, सहकर्मी नियन्त्रणमा
सप्तरी, १९ असार । सप्तरीको राजविराजस्थित कारागार सुरक्षामा खटिएका एक प्रहरी जवान आफ्नै सहकर्मीले बोकेको एसएलआर राइफलबाट दुर्घटनावश गोली चल्दा गम्भीर घाइते भएका छन्। घटनापछि गोली प्रहार गर्ने अर्का प्रहरी जवानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार गएको बुधबार राति करिब ११ः२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा सो घटना भएको हो। नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दी भई हाल कारागार सुरक्षामा खटिएका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएको हो।
शौचालयबाट आफ्नो ड्युटी पोष्टतर्फ फर्किरहेका बेला पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका अर्का प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआरबाट एक्कासि गोली पड्किएको थियो। प्रहार भएको गोली यादवको कम्मरमाथिको ढाडमा लागेको छ।
घाइते यादवलाई तत्काल गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मेहराज घिमिरेले प्रहरी जवानले बोकेको एसएलआरबाट अचानक गोली पड्किँदा सो दुर्घटना भएको पुष्टि गर्नुभयो। घटनापछि प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।