कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको हेलिकप्टरबाट खोजी गर्न मुख्यमन्त्रीको निर्देशन
काठमाडौँ, असार १९ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दैलेखको चामुण्डा विन्द्रासैनीस्थित कर्णाली राजमार्गबाट नदीमा खसेर बेपत्ता भएको गाडी र यात्रुहरूको खोजी कार्यमा हेलिकप्टर परिचालन गर्न निर्देशन दिनुभएको छ ।
बिहीबार भएको उक्त दुर्घटनापछि मुख्यमन्त्री कँडेलले आज प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरी उद्धार तथा खोजी कार्यबारे जानकारी लिनुभएको हो । छलफलका क्रममा उहाँले उपलब्ध सम्पूर्ण स्रोत-साधनको उच्चतम प्रयोग गरी खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्नुभयो । मुख्यमन्त्रीले खोजीको दायरालाई दैलेखदेखि भारतको सीमा क्षेत्रसम्म विस्तार गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
छलफलमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठकले घटनास्थलमा गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिनटारबाट आउने क्रममा रहेको जानकारी दिनुभयो ।
यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले भौगोलिक विकटता, नदीमा बढेको जलसतह र धमिलो पानीका कारण खोजी कार्यमा चुनौती थपिएको बताउनुभयो । उहाँका अनुसार हाल नेपाली सेनासहित सबै सुरक्षा निकायको सामूहिक प्रयासमा ड्रोन क्यामेरा समेत प्रयोग गरी सम्भावित स्थानहरूमा खोजी जारी राखिएको छ ।
गत बिहीबार बिहान ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो । दुर्घटनापछि भीरमा अड्किएको अवस्थामा उद्धार गरिएका कालिकोटको पचालझरना गाउँपालिका-९ का ५४ वर्षीय जेखे तिरुवाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । गाडीमा सवार अन्य यात्रुहरूको संख्या यकिन हुन नसकेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।