नेप्से परिसूचक ८.३ अङ्कले घट्दा कारोबार रकम ४ अर्ब नाघ्याे
काठमाडौँ, १९ असार । धितोपत्र बजारमा नेप्से परिसूचक आज शुक्रबार सामान्य अङ्कले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज परिसूचक ८.३० अङ्कले ओरालो लागेर २ हजार ६५३ दशमलव ४० विन्दुमा सीमित भएको हो।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि यस दिन २.६५ अङ्कले ओरालो लागेर ४५९.८१ विन्दुमा कायम भएको छ। आजको कारोबारमा कुल ३४५ कम्पनीका ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर ४ अर्ब ४१ करोड १२ लाख ३४ हजार ५३७ रुपैयाँ मूल्यमा खरिदबिक्री भएका छन्।
आजको सेयर बजारमा कारोबार रकमका आधारमा कृषि विकास बैंकको एग्रिकल्चर बण्ड (ऋणपत्र) शीर्ष स्थानमा रहन सफल भएको छ। यसैगरी, सर्वाधिक सेयर कारोबार हुने अन्य प्रमुख कम्पनीहरूमा क्रमशः केबिएल डिबेञ्चर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, वेष्ट फाइनान्स र सेन्ट्रल फाइनान्स रहेका छन्।
नेप्सेका अनुसार आज सानिगाड हाइड्रो, स्नो रिभर लिमिटेड, कालङ्गा हाइड्रो, नेपाल फाइनान्स र खानीखोला हाइड्रोका लगानीकर्ताहरूले तुलनात्मक रूपमा बढी आर्जन गरेका छन्। अर्कातर्फ, अप्पर लोहोरे खोला हाइड्रोपावर, धौलागिरी लघुवित्त, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, सामुदायिक लघुवित्त र युनिभर्सल पावरका सेयरधनीहरूले भने गुमाएका छन्।