मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्र्यापिङ’ गरिँदै

 

जोमसोम, २२ मङ्सिर ।  हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ। बायोकोर्स नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्च हिमाली क्षेत्रमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्र्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो।

बायोकोर्स नेपाल र एक्याप मिलेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न, हिउँ चितुवाको आहारा प्रजातिको अवस्था र मानव र हिउँ चितुवाबीचको द्वन्द्वको अवस्था पहिल्याउन र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्न क्यामेरा ट्र्यापिङ सुरु गरिएको बायोकोर्स नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो।

१५ वटा क्यामेरा जडान

उहाँका अनुसार गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्रको झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदी, फल्याक, धार्काजुङ र मुस्ताङ–डोल्पा सडकको उच्च हिमाली क्षेत्रमा १५ वटा क्यामेरा जडान गरिएको छ।

आजदेखि घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ, मार्फा र चिमाङ गाउँको उच्च हिमाली क्षेत्रमा हिउँ चितुवा ट्र्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो।

यहाँका उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको विस्तृत अध्ययन अनुसन्धान गर्न बायोकोर्सका प्रतिनिधि बायोलोजिस्ट गुरुङ र असिस्टेन्ट प्रवीण लामा क्यामेरा जडान कार्यमा खटिएका छन्। यसैगरी एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिनुभएको छ।

बायोकोर्स र एक्यापका प्राविधिक टोलीले यहाँका उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुन्।

दुई महिनासम्म क्यामेरा राखिने

सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्र्यापिङ क्यामेरा दुई महिनासम्म हिमाली क्षेत्रमा राखिनेछन्। हिउँद यामम हिउँ चितुवाको सङ्ख्या एकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउन क्यामेरा जडान गरिएको हो।

बायोकोर्सका प्रतिनिधि बायोलोजिस्ट गुरुङले दुई महिनापछि उच्च हिमाली क्षेत्रमा राखिएका क्यामेराको डाटा सर्वेक्षण गरिने जानकारी दिनुभयो। “दुई महिनापछि क्यामेरा झिकेर ल्याउँछौं, सफ्टवेयर अपडेट गरी हिउँ चितुवाको विस्तृत विवरण सङ्कलन हुन्छ,” प्रतिनिधि गुरुङले भन्नुभयो, “क्यामेरामा कैद भएका डाटा सबै एक्यापलाई नै हस्तान्तरण हुन्छ, हामीले हिउँ चितुवाको गणना मात्रै गर्छौं।”

बायोकोर्स नेपालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको विभिन्न क्षेत्रमा हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्र्यापिङ लगायतका कार्य गर्दै आइरहेको प्रतिनिधि गुरुङको भनाइ छ।

नाउरसँगै हिउँ चितुवाको अध्ययन

मुख्यरूपमा नाउर अध्ययनका लागि कार्य गरिने भए पनि बायोकोर्सले त्यसका साथसाथै हिउँ चितुवाको समेत अध्ययन गर्ने गरेको जनाएको छ। सन् २०२२ देखि लगातार मनाङमा चार वर्षसम्म निरन्तर हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्र्यापिङ गरिएकोमा यसपालि मुस्ताङमा यस प्रकारको कार्यक्रम पहिलो भएको बायोलोजिस्ट गुरुङले जानकारी दिनुभयो।

यसैगरी माथिल्लो मुस्ताङमा पनि एक हिउँ चितुवासम्बन्धी पीएचडी विद्यार्थीले क्यामेरा ट्र्यापिङमार्फत हिउँ चितुवाको अध्ययन सुरु गरेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। मुस्ताङमा पटक पटक हिउँ चितुवा अध्ययनका लागि क्यामेरा ट्र्यापिङ लगायतका काम भए पनि हालसम्म कति सङ्ख्यामा हिउँ चितुवा छन् भन्ने तथ्य एकीन हुन सकेको छैन।

मानव–हिउँ चितुवा द्वन्द्व बढ्दो

पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढेको देखिन्छ। हिउँ चितुवा उच्च हिमाली क्षेत्र छाडेर सडक र बस्तीमा झर्ने र यहाँका पशुपालकको गोठमै पसेर पशुचौपाया लगायतलाई क्षति पुर्‍याउने घटना दोहोरिरहेका छन्।

पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा चरनक्षेत्रमा घाँस पलाउन छाडेको र पानीका स्रोत सुक्दै जान थालेपछि हिउँ चितुवाको आहारा नाउर खोला र बस्तीसम्म झर्ने गरेको पाइएको छ। हिउँ चितुवा नाउर लगायतका आहारा पछ्याउँदै खोला र बस्तीमा झर्दा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेको हो।

यहाँ हिउँ चितुवाको संरक्षण र मानवबीचको सहअस्तित्व निर्माण गर्न समेत चुनौती बढ्दै गइरहेको छ। यसैगरी कम उचाइको क्षेत्रमा रहने चितुवा (कमन लेपर्ड) पनि तापक्रम वृद्धि हुँदै जाँदा माथिमाथि बासस्थान सार्ने लगायतका घटना पनि देखिन थालेका छन्।