आफ्नै ४ महिने शिशुको हत्याको कारण खुल्यो
काठमाडौँ, मंसिर २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की आफ्नै ४ महिने छोराको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । डोटी स्थायी घर भएका २९ वर्षीय कार्कीले गत मङ्सिर २१ गते दिउँसो सिनामंगलस्थित डेरामा छोराको हत्या गरेका हुन् । हाल उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
कार्की र उनकी श्रीमती विष्णु साउद दुवै प्रहरी सेवामा छन् । दुवै विमान स्थल सुरक्षा कार्यालयमै कार्यरत थिए । गत साउनमा छोरा जन्मिएपछि विष्णु सुत्केरी बिदामा थिइन् । मङ्सिर २१ गते दिउँसो करिब १२ बजे ड्युटी सकेर कोठामा पुगेका कार्कीले श्रीमती लुगा धुन व्यस्त भएको मौका छोपी तरकारी काट्ने दुईवटा चक्कु प्रयोग गरी सुतिरहेको छोराको घाँटी रेटेका थिए ।
हत्यापछि उनले श्रीमतीलाई ‘मैले बच्चा मारेँ’ भन्दै सुनाए । श्रीमतीले रक्ताम्मे अवस्थामा छोरालाई देखेपछि आफूमाथि पनि आक्रमण हुन सक्ने डरले संयमित हुँदै ‘बच्चालाई बाहिर लगौँ’ भन्दै कोठाबाट निस्किइन् । बाहिर पुगेपछि उनले ‘गुहार गुहार’ भन्दै चिच्याएपछि कार्कीले उनीमाथि पनि ढुङ्गाले आक्रमण गरी टाउकोमा चोट पुर्याए । घाइते विष्णुको हाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै छिमेकीहरू जम्मा हुन थालेपछि कार्की छोराको शव लिएर कोठाभित्र पसे । त्यसपछि घरको पछाडिपट्टि रहेको रेलिङबाट तन्नाको सहायताले तल ओर्लिएर उनी फरार भए । मोबाइल अफ गरेर भागेका कार्कीलाई प्रहरीले सोही दिन काठमाडौँको नागढुङ्गा चेकप्वाइन्टबाट पक्राउ गरेको हो । उनी प्रदेश-१-०२-००२ ख ०१२८ नम्बरको बस चढेर पूर्व (धरान) तर्फ भाग्दै गरेको अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, कार्कीविरुद्ध ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ ।
किन गरे हत्या
प्रहरीको प्रारम्भिक बयानमा कार्कीले ‘आवेशमा आएर’ हत्या गरेको बताएका छन् । उनले भनेका छन्, ‘किन त्यसो गरेँ थाहा भएन, सायद आवेशमा आएँ ।’
तथापि, अनुसन्धान अधिकृतहरूका अनुसार घटनाको पछाडि पारिवारिक तनाव र बच्चाको स्वास्थ्य अवस्था मुख्य कारण देखिएको छ । जन्मिएलगत्तै दूध सर्केर गम्भीर बिरामी परेका शिशुको टाउकोमा रगत जमेको देखिएपछि केएमसी अस्पतालमा शल्यक्रिया गरिएको थियो । करिब एक महिना अस्पताल राख्दा ८ लाख रुपैयाँ खर्च भएको र चिकित्सकले ‘बच्चा भविष्यमा शारीरिक रूपमा अशक्त हुन सक्ने’ बताएपछि कार्की दम्पती चिन्तित थिए ।
उपचार महँगो हुनु, बच्चाको भविष्य अनिश्चित देखिनु र यसै विषयलाई लिएर दम्पतीबीच हुने विवादका कारण नै कार्कीले निराशा र तनावमा यस्तो जघन्य अपराध गरेको हुन सक्ने प्रहरीको निष्कर्ष छ ।
