काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज: १७ देशका १९६ सहित २ हजार २०९ विद्यार्थी दीक्षित हुँदै

 

काभ्रेपलाञ्चोक, २४ मङ्सिर । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज भव्यताका साथ सम्पन्न हुँदै छ। विश्वविद्यालय परिसरमा आयोजना हुने समारोहको पहिलो चरणमा आज स्वदेशी र विदेशी गरी कुल २ हजार २०९ विद्यार्थी दीक्षित हुँदै छन्।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेका अनुसार समारोहको अध्यक्षता प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले गर्नुहुनेछ। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनको पनि विशेष उपस्थिति रहनेछ। यसैगरी, समारोहमा भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) की उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त मन्तव्य राख्ने कार्यक्रम तय भएको छ।

कुन संकायका कति विद्यार्थी?
आजको दीक्षान्त समारोहमा विभिन्न ७ संकायका विद्यार्थीहरू दीक्षित हुँदै छन्। जसमध्ये सबैभन्दा धेरै स्कुल अफ मेडिकल साइन्सेजका ८८१ जना रहेका छन्।
अन्य संकायगत विवरण यस प्रकार छ:

  • स्कुल अफ आर्टस्: ८३ जना

  • स्कुल अफ एजुकेसन: २९४ जना

  • स्कुल अफ इञ्जिनियरिङ: ३४० जना

  • स्कुल अफ ल: ३६ जना

  • स्कुल अफ म्यानेजमेन्ट: ३७८ जना

  • स्कुल अफ साइन्स: १९७ जना

तहगत रूपमा हेर्दा, आज दीक्षित हुनेमध्ये स्नातक तहका १ हजार ७२८, स्नातकोत्तर तहका ३९७, र पिजिडी तहका ५० जना रहेका छन्। त्यस्तै, विद्यावारिधि (पिएचडी), डिएम र एमसिएच तहका ७ जना विशिष्ट श्रेणीका विद्यार्थी पनि आज दीक्षित हुनेछन्। समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विभिन्न पदकबाट विभूषित गरिने कार्यक्रम रहेको छ।

१७ देशका विद्यार्थीको आकर्षण
काठमाडौँ विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो साख बढाउँदै लगेको छ। आज दीक्षित हुनेमध्ये १७ देशका १९६ जना विदेशी विद्यार्थी रहेका छन्। यसमा अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रुस, स्पेन, श्रीलङ्का, स्वीडेन, अमेरिका र भियतनामका विद्यार्थीहरू समावेश छन्।

५० हजार जनशक्ति उत्पादन
स्थापनाकालदेखि हालसम्म काठमाडौँ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारका लागि ५० हजार ४० जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ। उपकुलपति वाग्लेका अनुसार अहिलेसम्म दीक्षित हुने विद्यार्थीमध्ये ५ हजार ८६० जना (करिब १२ प्रतिशत) विदेशी विद्यार्थी रहेका छन्।

हालसम्मको तथ्याङ्क हेर्दा विदेशी विद्यार्थीमध्ये सबैभन्दा ठूलो हिस्सा भारतको रहेको छ। हालसम्म भारतका ४ हजार ९७६ विद्यार्थी केयुबाट दीक्षित भइसकेका छन्। त्यसपछि क्रमशः श्रीलङ्का (३९९), अमेरिका (८५), माल्दिभ्स (७५) र जर्मनी (३३) रहेका छन्। समग्रमा हालसम्म ५८ देशका विद्यार्थीहरूले काठमाडौँ विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरिसकेको विश्वविद्यालयले जनाएको छ।