बडीमालिकाका सात वडा ‘छाउपडी गोठमुक्त’ घोषित
काठमाडौँ, मंसिर २५ । सामाजिक कुसंस्कारका रूपमा गहिरो जरा गाडेको छाउपडी प्रथा अन्त्य गर्ने उद्देश्यसहित बाजुराको बडीमालिका नगरपालिकाले आफ्ना सातवटा वडालाई ‘छाउपडी गोठमुक्त’ क्षेत्र घोषणा गरेको छ ।
नगरपालिकाले सञ्चालन गरेको ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत बुधबार वडा नम्बर ८ लाई विधिवत् रूपमा छाउपडी गोठमुक्त घोषणा गरिएसँगै गोठमुक्त हुने वडाको सङ्ख्या सात पुगेको हो । हालसम्म नगरपालिकाका वडा नम्बर १ र ७ बाहेक अन्य सबै वडाहरू यस अभियानअन्तर्गत गोठमुक्त भइसकेका छन् ।
नगर उपप्रमुख नन्दा थापाका अनुसार, वडा नम्बर ८ मा रहेका ४५६ घरधुरीमा गरिएको गहन अनुगमन र सुधारपछि यो घोषणा गरिएको हो । नगरपालिकाको मापदण्डअनुसार कुनै पनि वडालाई छाउपडी गोठमुक्त घोषणा गर्न सो वडाका कम्तीमा ९० प्रतिशत घरधुरी गोठमुक्त (छाउगोठ नभएको वा सुरक्षित बासस्थान प्रयोग गरेको) हुनुपर्ने व्यवस्था रहेको छ ।
बाँकी रहेका दुई वडाहरूमा पनि आवश्यक सहजीकरण र अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ ।