इतिहास र क्रियाशीलताले महासचिवको जिम्मेवारी चाहन्छु, तर सामूहिकतामा मेरो विश्वास छः प्रदीप ज्ञवाली (भिडियो अन्तर्वार्ता)

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अहिले एमालेको सारा पङ्क्ति महाधिवेशनप्रति केन्द्रित भएको बताउनु भएको छ । उहाँले सबैको जिज्ञासा र विभिन्न खालका अनुमानहरू भएको अवस्थालाई स्वाभाविकलिनु पर्ने पनि उल्लेख गर्नुभयो । ‘एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी, लामो इतिहास भएको र भदौ २३–२४ को घटनापछि सबभन्दा छिटो आफूलाई व्यवस्थित गरेर करिब तीन महिनाकै तयारीमा राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुँदै गरेको पार्टी एमाले हो,’ उहाँले मैत्रिन्युजसँग संवादका क्रममा भन्नुभयो, ‘त्यसो भएको हुनाले यो महाधिवेशन कसरी सम्पन्न हुन्छ, कस्तो नेतृत्व आउँछ, यसले राष्ट्रिय राजनीतिमा के कस्ता प्रभावहरू पर्छ भन्ने बारेमा चासो हुनु स्वाभाविक हो।’

उहाँले आम शुभेच्छुकहरू, लोकतन्त्रप्रति प्रतिबद्ध, निष्ठा राख्ने पार्टीभित्र या बाहिरका सबैको, नेकपा (एमाले) अझ बढी एकताबद्ध भएर अगाडि आओस्, अझ बढी सुदृढ भएर अगाडि आओस् भन्ने सुभेच्छा राखेको पनि उल्लेख गर्नुभयो । ‘लोकतन्त्रको भविष्य पार्टीहरूको भविष्यसँग जोडिँदो रहेछ। पार्टीहरूका, पार्टीहरू सुदृढ हुने या कमजोर हुने कुराले ती पार्टीहरूलाई मात्रै असर गर्दो रहेनछ, सिंगो मुलुकलाई नै असर गर्दो रहेछ। त्यो सोचेर लोकतन्त्रको भलो चाहनेहरू, लोकतन्त्रको भविष्य सुदृढ भएको देख्न चाहनेहरू नेकपा (एमाले) को महाधिवेशन एकदमै राम्रोसँग सम्पन्न होस् भन्ने ढंगले त्यो शुभेच्छापूर्ण जिज्ञासा राखिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘एउटा पंक्तिमा अन्योल पनि छ। के होला, कसो होला किनभने अनेकौं खालका अड्कल अनुमानहरू छन्। एक खालको जिज्ञासा मात्रै छ। एक खालका मान्छेहरू छन् जसले नेकपा एमालेभित्र अलिकति असहज अवस्था सिर्जना होस्, विवादहरू चर्केको अवस्था होस्। त्यो विवाद एकदम चर्को असहमतिमा र बिस्तारै विभाजनतिर जाओस् भन्ने ध्येय राख्नेहरू पनि छन्। त्यसो भएर मिश्रित खालका छन् यी जिज्ञासाहरू। तर आम रूपमा भन्ने हो भने नेपाली जनताले नेकपा (एमाले) को यो महाधिवेशनप्रति सकारात्मक सद्भाव र एकदमै राम्रो शुभेच्छा व्यक्त गरिरहनुभएको अवस्था छ।’

उहाँले संवादकै क्रममा आफू एउटा समूहमा, सामूहिकतामा विश्वास गर्ने मान्छे भएको भन्दै पार्टी महत्वपूर्ण कुरा भन्नुभयो । ‘व्यक्ति तपसिललको कुरा हो भन्ने म ठान्छु। अब इतिहासले, निष्ठाले, क्रियाशीलताले र ग्राह्यताले, स्वीकार्यताको हिसाबले स्वाभाविक रूपले मैले मेरो जिम्मेवारी बढ्नुपर्छ, मैले महासचिवको जिम्मेवारी लिनुपर्छ भन्ने ठान्दछु। मैले त्यो कुरा अध्यक्ष कमरेडसँग भनेको पनि छु,’ उहाँले भन्नुभयो, ‘साथीहरूसँग मैले त्यो इच्छा जाहेर गरेको पनि छु। यो विषयमा केही टुंगो भएको अथवा भावी नेतृत्वको विषयलाई लिएर हामीकहाँ संस्थागत छलफल भएको स्थिति छैन। त्यसो भएको हुनाले अहिले अब स्वाभाविक रूपले देशभरिका कार्यकर्ताहरूको चाहना, मेरो आफ्नै पनि स्वाभाविक रूपले एउटा विकासक्रम त्यो स्थिति हो। तर निर्णय भइनसकेको अवस्था हो।’