चुनाव केन्द्रित सुरक्षाका लागि सशस्त्र प्रहरीले दोस्रो घेरामा रहँदै सुरक्षा दिने

काठमाडौं, २६ मङ्सिर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालले आफ्नो परिचालन नीति तर्जुमा गरेको छ।

सशस्त्र प्रहरी बलले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचन सुरक्षा कार्यमा आफ्नो भूमिका र तयारीबारे जानकारी गराएको हो।

सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाका अनुसार, तयार पारिएको नीतिमा विभिन्न महत्त्वपूर्ण बुँदाहरू समावेश छन्:

जिम्मेवारी र परिचालन: सबै निर्वाचन क्षेत्रहरूमा तोकिएको जिम्मेवारीमा सशस्त्र प्रहरी परिचालन गरिनेछ।
सुरक्षाको दोस्रो घेरा: निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरी बल सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायहरूसँग समन्वयात्मक रूपमा परिचालित हुनेछ।

तालिम: निर्वाचन सुरक्षा अनुशिक्षण तालिमसम्बन्धी पाठ्यक्रम तयार गरी निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अनिवार्य तालिम दिइनेछ।

आचारसंहिता: निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गरिनेछ।

नक्सांकन र परिचालन रणनीति: निर्वाचन क्षेत्रसहितको प्रदेशगत तथा जिल्लागत नक्सा तयार गरी निर्वाचन सुरक्षाका लागि महत्त्वपूर्ण स्थानहरू अङ्कित गरी प्रभावकारी रूपमा परिचालन गरिनेछ।

डीआईजी थापाले निर्वाचनको एक महिनाअघिदेखि नै आवश्यक बन्दोबस्तीका सामग्री तथा सवारी साधनसहित सशस्त्र प्रहरी कर्मचारीहरू खटिने जानकारी दिनुभयो।

यस्तै, क्विक रेस्पोन्स टिम (QRT) मा रहेका जनशक्तिलाई निर्वाचनको एक दिन अघिदेखि निर्वाचनको एक दिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधनका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले हालसम्म गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सङ्कलनमा सहयोग र विपद् व्यवस्थापनमा गरेका कार्यहरूका बारेमा समेत जानकारी गराएको थियो।