कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट: एक जवानको मृत्यु, सह–सेनानी घाइते

कैलाली, ११ असार । कैलालीको लम्कीचुहा नगरपालिकास्थित गोरङ्गे ब्यारेकमा सैन्य अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक जना सैनिक जवानको मृत्यु भएको छ। घटनामा नेपाली सेनाका अर्का एक अधिकृत घाइते भएका छन्।

मृत्यु हुनेमा सैनिक जवान हिमालविक्रम विष्ट रहेका छन्। लम्कीचुहा नगरपालिका–३ स्थित ब्यारेकमा मंगलबार बिहान नियमित सैन्य तालिम भइरहेका बेला अचानक ग्रिनेड विस्फोट भएको थियो।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार विस्फोटमा परी गम्भीर घाइते भएका विष्टलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको प्रवक्ता बस्नेतले जानकारी दिए।

सोही घटनामा घाइते भएका सह–सेनानी (क्याप्टेन) हेमराज जोशीलाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको छ। घटनाका बारेमा थप विवरण संकलन भइरहेको र सेनाले आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ।