पीएल सिंह मेमोरियल टी २० कप : काठमाडौँ र पोखरा महानगरपालिका फाइनलमा प्रवेश

काठमाडौँ, ११  । काठमाडौँमा जारी ‘पीएल सिंह मेमोरियल टी २० कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा काठमाडौँ र पोखरा महानगरपालिका प्रवेश गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल समीकरणका खेलहरूमा जित निकाल्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् ।

प्रतियोगिताको १२औँ खेलमा काठमाडौँ महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ३ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले बलिङ रोजेको काठमाडौँसामु विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४२ रनको योगफल तयार पारेको थियो । विराटनगरका लागि सुजन थपलियाले ३९ र दीपक पासवानले अविजित २९ रन जोडे । बलिङतर्फ काठमाडौँका कृष कार्की, विशाल फुयाँल र सन्दीप पराजुलीले समान २–२ विकेट लिए ।

१४३ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । काठमाडौँको जितमा ५५ रनको अर्धशतकीय पारी खेलेका शिवम तिवारी ‘प्लेयर अफ दि म्याच’ घोषित भए । ऋत गौतमले २५ रनको योगदान दिए । विराटनगरका कृष शर्मा, प्रतीक पोखरेल र दीपेश कँडेलले २–२ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

त्यस्तै, १३औँ खेलमा पोखरा महानगरपालिकाले ललितपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित दर्ता गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउँदै १६६ रनको बलियो योगफल खडा गरेको थियो । ललितपुरका आदिल खानले ४८ बलमा ८३ रनको विस्फोटक पारी खेले भने रोशन विकले ३२ रन जोडे ।

१६७ रनको लक्ष्य पोखराले १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर प्राप्त गर्‍यो । पोखराका लागि अर्जुन कुमालले ६३ र दीपक डुम्रेले ५६ रनको उत्कृष्ट योगदान दिए । ब्याटिङमा ५६ रन र बलिङमा १ विकेट लिएका दीपक डुम्रे खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित यो प्रतियोगिता आन्तरिक टी–२० खेलहरूमध्ये सर्वाधिक पुरस्कार राशिको रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २१–२१ हजार तथा ‘प्लेयर अफ द टुर्नामेन्ट’लाई ५१ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा देशका ६ वटा महानगरपालिका (काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज) का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहेको छ । उपाधिका लागि काठमाडौँ र पोखराबीच शनिबार साँझ फाइनल खेल हुनेछ । भोलि नै लिग चरणका बाँकी खेलहरूमा भरतपुर विरुद्ध विराटनगर र वीरगन्ज विरुद्ध पोखराबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।