म्याग्दीको बरङ्जामा सामुदायिक कुकुरको आतङ्क : १० दिनमा तीन बाख्रा मरे, छ घाइते

काठमाडौँ, असार ११ । म्याग्दीको मङ्गला गाउँपालिका–३, बरङ्जामा सामुदायिक कुकुरको टोकाइबाट बाख्राहरू मर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । विगत १० दिनको अवधिमा कुकुरको आक्रमणबाट तीनवटा बाख्राको मृत्यु भएको छ भने अन्य छ वटा घाइते भएका छन् ।

मङ्गला गाउँपालिका ३ की कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनका अनुसार पिङ्गे, खर्क, आलडाँडा, बाहुनपँधेरा, खर्सुपानी र वडा कार्यालय वरपरका क्षेत्रमा सामुदायिक कुकुरले आतङ्क सिर्जना गरेका छन् । कुकुरको आक्रमणबाट पिङ्गेका टेकबहादुर थापाका दुई वटा र भीमबहादुर रोकाको एउटा बाख्रा मरेका हुन् ।

यस्तै, खर्सुपानीमा दुई, खर्कमा दुई, बाहुनपँधेरामा एउटा र वडा कार्यालय नजिकै एउटा बाख्रा कुकुरको टोकाइबाट घाइते भएका छन् । घाइते बाख्राको उपचारका लागि वडामा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरूलाई हम्मेहम्मे परेको वडा कार्यालयले जनाएको छ ।

स्थानीय कृषक गङ्गाधर आचार्यका अनुसार तीन वटा कुकुरको समूहले किसान घरमा नभएको मौका छोपेर गोठमै पुगी बाख्रामाथि आक्रमण गर्ने गरेको छ । कुकुरको बढ्दो आतङ्कका कारण बाख्रापालक कृषकसँगै सर्वसाधारणमा समेत त्रास फैलिएको स्थानीय महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटाले बताउनुभयो ।

अवस्था नियन्त्रण बाहिर जान थालेपछि वडा कार्यालयले आतङ्क फैलाउने कुकुरको पहिचान र नियन्त्रणका लागि गाउँपालिका तथा सिङ्गा तातोपानी प्रहरी चौकीसँग सहयोग मागेको छ । कार्यवाहक वडाध्यक्ष पुनले सार्वजनिक सूचना जारी गर्दै घरपालुवा कुकुरलाई बाँधेर राख्न आग्रह गर्नुभएको छ । साथै, समुदायको सहयोगमा आतङ्क फैलाउने कुकुरको खोजी गरी नियन्त्रणमा लिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।