अभाव र संघर्षको दैनिकी : त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…
धादिङ, २६ मङ्सिर । हातमा बेल्चा, टाउकामा रुमाल र कम्मरमा सलको पटुकी लगाएर त्रिशूली नदीको चिसो बगरमा बालुवा सार्दै गर्दा भेटिएकी कल्पना भुजेलको खलखल पसिना कठ्याङ्ग्रिँदो जाडोमा पनि बगिरहेको छ। झापा स्थायी घर भए पनि श्रमको खोजीमा त्रिशूली किनारमा बस्दै आउनुभएकी भुजेलको दैनिकी बालुवामै बित्छ, जहाँ एक दिनको अल्छीले चुल्हो बाल्न कठिन हुन्छ र बिरामी पर्दा औषधोपचारको चिन्ता थपिन्छ।
कल्पना एकाबिहानै धादिङ र नुवाकोटको सीमामा पर्ने केउरेनी बगरमा पुग्नुहुन्छ। बगर खोतलेर बालुवा थुपार्ने, नदीमा डुबेर बालुवा निकाल्ने र दिनभर पसिना बगाएर जम्मा गरेको बालुवा चाल्ने, गाडीमा हाल्ने कामले उहाँको दिन बित्छ। “यो नै परिवारको जीवन धान्ने आधार हो,” उहाँले सुनाउनुभयो। कल्पनासँगै उहाँका श्रीमान् विनोद भुजेल पनि यही काममा संलग्न हुनुहुन्छ। उहाँहरूकी एक छोरीलाई बालआश्रमले पढाउँदैछ।
कल्पना र विनोद मात्रै होइनन्, नुवाकोट, धादिङ, चितवन, नवलपरासीलगायतका जिल्लामा नदी किनारमै बसेर जीवन गुजार्ने सयौँ परिवार छन्। असिनपसिन पार्ने गर्मी होस् वा कठ्याङ्ग्रिँदो जाडो, उहाँहरूको दैनिकी नदी किनारमै बित्छ। तर यसबाट हुने आम्दानी भने न्यून छ। दिनभरि खट्दा कहिले रु ५०० त कहिले रु ८०० आम्दानी हुने गरे पनि त्यो सधैँ हुँदैन। स्थानीय तह र प्रहरी प्रशासनले कडाइ गरेका बेला कमाइ शून्य हुने गरेको भुजेलले बताउनुभयो।
मजदुरका अनुसार, हिउँदमा (हिजोआज) एक ‘टिप’ बालुवा जम्मा गर्न दुई जनालाई तीन दिनसम्म लाग्छ भने गाडीमा ‘लोड’ गर्न आधा दिन लाग्छ। त्यसबापत ठेकेदारले रु चार हजारदेखि बढीमा रु चार हजार ५०० दिन्छन्। सात वर्षदेखि यस्तै काम गरेर गुजारा चलाउँदै आउनुभएका नुवाकोट चाउथेका रामबहादुर सुनारले भन्नुभयो, “बूढाबूढीले बिहानदेखि बेलुकासम्म काम गरेर दिनको रु एक हजार कमाउन पनि मुस्किल पर्छ। प्रहरीले कडाइ गरेका बेला त त्यति पनि हुँदैन। लुकामारी गर्दै दिन बित्छ।”
धादिङको सिद्धलेक गाउँपालिका–७ का बाबुराम आचार्यले पनि २५ वर्षदेखि बालुवामा पसिना चुहाएर परिवारका सामान्य आवश्यकता पूरा गर्दै आउनुभएको छ। बालुवा चालेरै चार छोराछोरीको शिक्षादीक्षा र परिवारको गुजारा चलाउनु आफ्नो बाध्यता भएको उहाँले सुनाउनुभयो। “काम गरेको दिन चुलो बल्छ, नगरेको दिन भोकै परिन्छ। त्यसैबाट आएको केही रकमबाट गास काटेर छोराछोरीको शिक्षादीक्षाको व्यवस्था गर्छौँ,” आचार्यले भन्नुभयो।
विशेषगरी नुवाकोटको बेलकोटगढी, धादिङको गल्छी र गजुरीमा पर्ने नदी किनार र बगरमा २०५० सालदेखि मजदुरले बालुवा निकाल्दै आएका छन्। धादिङतर्फ पर्ने त्रिशूली नदीको बेल्खु, घाटबेंसी, बाङ्गे, जरेखेत, महेशखोला, पोखरेखोला, मलेखुलगायत बगरमा मजदुरको सङ्ख्या बढी देखिन्छ।
पानीमा डुबेर थुन्सेमा निकालेको र बगरमा छरपस्ट बालुवालाई सोहोरेर जम्मा गरेको बालुवामा स्थानीय सरकारले कर छुट गरिदिए आफूहरूलाई ठूलो राहत हुने मजदुरको भनाइ छ। मजदुर भवानी अर्याल भन्नुहुन्छ, “सरकारले थुन्सेमा बोकेर गाडीमा लोड गरेको बालुवाको कर नलिइदिए गाडीवालाले हामीलाई अलिकति भए पनि पैसा बढी दिन्थे। कर पनि तिर्नुपर्छ भनेर बालुवा उठाउने ठेकेदारले हामीजस्ता मजदुरलाई पैसा कम दिन्छन्। घर छेउछाउतिरका बगरमा बालुवा निकाल्दा त झन् घरवालालाई पनि बाटोकर तिर्नुपर्छ। कि बाटोकर तिर, नत्र बालुवा ननिकाल भनेर समस्यामा पार्छन्।”
जिल्ला प्रशासन कार्यालयले भने मजदुरको सुरक्षा, वातावरणीय जोखिमलाई मध्यनजर गरी त्रिशूली नदी र आसपासका अन्य खोलाबाट बालुवालगायत नदीजन्य सामग्री उत्खननमा रोक लगाएको छ। स्थानीय पालिकाले भने हरेक वर्ष बालुवा निकाल्न ठेक्का लगाउँदै आएका छन्। मजदुरका हितमा कुनै निकायले काम नगरेको मजदुरहरूको गुनासो छ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बालुवा निकाल्ने मजदुर सधैँ एकै ठाउँमा नबस्ने र फेरबदल भइरहने भएकाले उनीहरूका विषयमा निर्णय गर्न समस्या हुने बताउनुभयो। “ठेक्का लागेका ठाउँमा होस् वा मजदुरले थुन्सेमा निकालेको बालुवा होस्, टिपको हिसाबले कर त उठाउँछौँ। मजदुर हितका लागि चाहेर पनि केही गर्ने मेसो मिलेको छैन। मजदुरबाट औपचारिक रूपमा केही माग भएर आएमा छलफल गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
त्रिशूली नदीले छुने गजुरी, थाक्रे, गल्छी, बेनिघाट गाउँपालिकाले बर्सेनि रु पाँचदेखि रु १० करोडसम्मको ठेक्का लगाउने गरेको छ। शङ्कर श्रेष्ठ/रासस