राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकारलाई कांग्रेसको पूर्ण समर्थन रहने : नेता थापा
काठमाडौँ, वैशाख २६ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रियता, सुशासन र अर्थतन्त्र सुधारका साझा एजेन्डामा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय भेला’लाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय हितका विषयमा कांग्रेस सधैँ जिम्मेवार रहने स्पष्ट पार्नुभयो ।
नेता थापाले राष्ट्रियताका सवालमा कांग्रेसले कहिल्यै पनि दलीय स्वार्थ नहेरेको उल्लेख गर्दै वर्तमान सरकारका सकारात्मक कदममा सहयोग रहने तर लोकतन्त्रका आधारभूत मूल्य–मान्यताविपरीतका कार्य भने स्वीकार्य नहुने चेतावनी दिनुभयो । “लोकतन्त्रमा कानुनी वैधता मात्र पर्याप्त हुँदैन, नैतिक वैधता पनि अपरिहार्य हुन्छ,” उहाँले भन्नुभयो ।
पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा चर्चा गर्दै उहाँले नेता तथा कार्यकर्तालाई निराशा त्यागेर सङ्गठन निर्माणमा केन्द्रित हुन निर्देशन दिनुभयो । साथै, गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेहरूलाई निश्चित समयका लागि जिम्मेवारीबाट अलग राखेर अनुशासनको दायरामा ल्याइने उहाँको भनाइ थियो ।
कार्यक्रममा पार्टीका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले कांग्रेस अब नवीन ऊर्जाका साथ नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीलाई साझा र समावेशी सङ्गठनका रूपमा विकास गर्दै समाजका सबै पक्षलाई समेटेर लैजानुपर्ने दायित्व कांग्रेसको काँधमा आएको बताउनुभयो ।
त्यस्तै, नेता गुरुराज घिमिरेले पार्टीभित्रको पूर्वाग्रह अन्त्य गर्दै अवसर नपाएका निष्ठावान् र क्षमतावान् कार्यकर्ताको उचित मूल्याङ्कन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिँदै पूर्वसभापति शेरबहादुर देउवा लगायतका वरिष्ठ नेताहरूको सम्मानजनक भूमिकाका लागि ध्यान दिन नेतृत्वलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज चौधरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहमहामन्त्रीद्वय प्रकाश रसाइली ‘स्नेही’ र उदयशम्शेर राणा लगायतका नेताहरूले पार्टीको भावी कार्यदिशाबारे धारणा राख्नुभएको थियो । दुई दिनसम्म चल्ने यस भेलामा प्रदेश तथा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूसँग पार्टीको नीति र कार्यसम्पादनका विषयमा सघन छलफल गरिने जनाइएको छ ।