आगामी बजेट र नीति तथा कार्यक्रमका लागि सरकारद्वारा ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालन
काठमाडौँ, वैशाख २६ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउँदै जनताका वास्तविक आवश्यकतालाई समेट्ने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुआत गरिएको हो ।
आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा सर्वसाधारणका मौलिक अपेक्षा र विज्ञका रायलाई समावेश गर्न यस पोर्टलले सेतुको काम गर्ने अपेक्षा गरिएको छ । यस माध्यमबाट स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना रचनात्मक सुझावहरू सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई केवल प्रशासनिक घेराभित्र सीमित नराखी जनभावना र विज्ञतालाई उच्च कदर गर्ने प्रधानमन्त्रीको योजनाअनुरूप यो कदम चालिएको हो । “यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्नेछ,” दाहालले भन्नुभयो, “प्राप्त सुझावहरूलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लैजाने सुनिश्चितता गरिएको छ ।”
यस प्रणालीमा नागरिकले आफ्ना सुझावहरूको पछिल्लो अवस्था र सरकारले चालेका कदमबारे जानकारी लिन सकिने गरी ‘सुझाव ट्रयाक’ गर्ने विशेष सुविधा समेत समावेश गरिएको छ ।
सरकारले ‘समृद्ध नेपाल’ निर्माणको महाभियानमा सक्रियताका साथ सहभागी भई रचनात्मक योगदान पुर्याउन सम्पूर्ण नेपालीमा हार्दिक आह्वान गरेको छ । इच्छुक नागरिकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरी आफ्ना रायसुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन् ।