देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जना पक्राउ
काठमाडौँ, वैशाख २६ । नेपाल प्रहरीले देशका विभिन्न भागबाट अवैध लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । नियमित सुरक्षा गस्ती र विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दियाबाट चार जना, सुनसरी र झापाबाट तीन–तीन जना पक्राउ परेका छन् । त्यसैगरी काठमाडौँ र ललितपुरबाट दुई–दुई जना तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट एक-एक जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र विभिन्न जिल्लाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूको साथबाट खैरो हेरोइन (ब्राउन सुगर), चरेस तथा चिकित्सकको सिफारिस बिना बिक्री-वितरण गर्न निषेध गरिएका ट्रामाडोल र डाइक्लोमाइन जस्ता औषधिहरू बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।