ओलीले प्यानलमा अटाएपछि केन्द्रीय कमिटीमा ‘डेब्यु’ को तयारी गर्दै यी चर्चित र युवा अनुहार
काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा १० औं महाधिवेशनबाट अध्यक्ष बन्नुभएका केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष बन्नुभएका ईश्वर पोखरेलबिच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । दुबै समूहले टीम नै बनाएर चुनावी मैदानमा ओर्लिएपछि महाधिवेशन थप रोचक हुने भएको हो । तेस्रो कार्यकालका लागि तयारी गरिरहनु भएका ओलीले आफ्नो प्यानलमा अनुभवी, समावेशी र नयाँ पुस्तालाई समेट्ने प्रयास गर्नुभएको छ । उहाँले आफ्नो प्यानलमा चर्चित युवाहरुलाई राम्रो स्थान दिने प्रयास गर्नुभएको छ ।
निवर्तमान सांसद समेत रहनु भएका चर्चित युवा महेश बर्तौला र रश्मी आचार्य ओलीको प्यानलबाट उम्मेदवार बन्नुभएको छ । उहाँहरु दुबै जना अनेरास्ववियुको उपाध्यक्षबाट विदा हुनुभएको थियो । अखिलबाट विदा भएपछि बर्तौला मकवानपुरबाट प्रत्यक्ष निर्वाचित सांसद बन्नु भएको हो । बर्तौला केही समय अघि केन्द्रीय कमिटिमा मनोनित भए पनि निर्वाचन नै लडेर केन्द्रीय कमिटिमा आएको अनुभव उहाँसिँग छैन । उहाँ यो पटक निर्वाचन नै लडेर केन्द्रीय कमिटिमा आउने तयारीमा हुनुहुन्छ ।
अनेरास्ववियुबाट भर्खरै विदा भएका अधिकांश पदाधिकारी पनि युवा क्लष्टरमा अटाउनु भएको छ । त्यसैगरी युवा संघका अध्यक्षदेखि चारवटै महानगरपालिकाका उपप्रमुखलाई पनि ओली आफ्नो प्यानलमा अटाउनु भएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलदेखि ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र विराटनगरकी शिल्पा कार्की निरालासम्म ओली प्यानलमा अटाउनु भएको छ । उहाँहरु तीनै जना पहिलोपटक उम्मेदवार बन्नुभएको हो ।
त्यसैगरी ओलीको प्यानलमा उमेरहदपछि अनेरास्ववियुको जिम्मेवारी लिन नपाउँदै विदा हुनुभएका उपाध्यक्षहरु गोविन्द गिरी, धर्म गिरी, नाराण घर्तीसँगै महासचिव नरेश रोकाय पनि समेटिनु भएको छ । ओलीको प्यानलमा अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालसँगै गरिवकी वकिल भनेर चिनिने राधिका खतिवडा, युवा नेत्रि क्रान्ति बुर्लाकोटी, युवासंघका वर्तमान अध्यक्ष क्षितिज थेबे पनि उम्मेदवारमा अटाउनु भएको छ ।
त्यस्तै ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा पनि ओलीको प्यानलमा अटाउनु भएको छ । मधेस प्रदेशकी उपसचिव आरती भण्डारी पनि ओली प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएको छ ।
अहिले भूगोलअन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रबाट एकएक जना युवा प्रतिनिधिका रूपमा छानिएर आएका छन्। विशेष लगायत गैरभौगोलिक कमिटीबाट पनि युवाहरूको प्रतिनिधित्व छ । यसरी हेर्दा एमालेले उल्लेख्य रुपमा युवालाई प्रतिनिधि बनाएको छ भने यो महाधिवेशनबाट केन्द्रीय कमिटीमा १० प्रतिशत युवा समेट्ने एमालेको तयारी छ । यो हुँदा तीस बढी युवाहरुले केन्द्रीय कमिटीमा बाजी मार्ने निश्चित छ ।