अमेरिकाद्वारा ७५ नेपाली डिपोर्ट, एकैपटक चार्टर्ड विमानबाट फिर्ता

काठमाडौँ, ४ पुस । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका र कानुन पालना नगरेका ७५ जना नेपालीलाई बिहीबार एकैसाथ डिपोर्ट (देश निकाला) गरेको छ।

चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएकाहरूमा ७२ पुरुष र ३ महिला पनि रहेका छन्। डिपोर्ट हुनेहरूमा अधिकांश अवैध बाटोबाट गएकाहरू छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, डिपोर्ट हुनेहरूमा बिचौलियालाई १ करोड रुपैयाँसम्म बुझाएको र त्यहाँ ७ महिनादेखि २ वर्षसम्म जेल जीवन बिताएकाहरू भएकाे खुलेको छ। साथै, भिजिट भिसामा गएका र ३० वर्षदेखि अमेरिका बस्दै आए पनि पीआर (PR) नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्टमा परेका छन्।

सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेयता मात्रै ४३९ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ गर्दै १ हजार ३६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेको सन्दर्भमा यो कदम चालिएको हो। पछिल्लो ७ वर्षमा कुल ६६६ जना नेपाली अमेरिकाबाट फिर्ता भइसकेका छन्।