कर्णाली प्रदेश अस्पतालमा २५ लाख हिनामिना: लेखा अधिकृतसहित ३ जना दोषी ठहर
सुर्खेत, ६ पुस । कर्णाली प्रदेश अस्पतालमा बिरामीबाट संकलित रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले तत्कालीन क्षेत्रीय अस्पताल (हाल प्रदेश अस्पताल) मा साढे २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको ठहर गरेको हो।
अदालतका अनुसार अस्पतालमा प्रयोग हुने ‘डल्फिन सफ्टवेयर’ मार्फत संकलन भएको रकममध्ये स्वास्थ्य बीमातर्फको १ लाख ६५ हजार ४ सय ३६ रुपैयाँ र साधारणतर्फको २४ लाख २ हजार ९० रुपैयाँ बैंक खातामा जम्मा नभएको पाइएको छ।
अदालतले यस प्रकरणमा अस्पताल र बैंकका कर्मचारीको मिलेमतो र लापरवाही पुष्टि गरेको छ:
शंकरप्रसाद सुवेदी (लेखा अधिकृत): विभिन्न काउन्टरबाट सफ्टवेयरमार्फत संकलित रकम बैंक दाखिला गराउने र खाता दुरुस्त राख्ने जिम्मेवारी पूरा नगरेको।
गोमा सिंजाली मगर (बैंक एक्स्टेन्सन काउन्टर इन्चार्ज): तृप्ती शाहीलाई अनाधिकृत रूपमा बैंक काउन्टरमा प्रवेश दिई मिलेमतो गरेको।
तृप्ती शाही: अस्पतालको आधिकारिक युजरनेम र पासवर्ड प्रयोग गरी संकलित रकम हिनामिना गरेको।
विशेष अदालतले तीनै जनालाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि आगामी पुस १८ गते पेसी तोकेको छ।