स्यालको आक्रमणबाट १० जना र तीन दर्जनभन्दा बढी पशुचौपाया घाइते

काठमाडौँ, असोज ५ । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेका छन् । नजिकैको वनक्षेत्रबाट बस्तीमा आएका स्यालका समूहले मानिस तथा पशुचौपायालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो २० दिनमा स्यालको आक्रमणबाट १० जना घाइते भएको हरिवन नगरपालिका–६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार गत शुक्रबार साँझ मात्रै सोही वडामा एक बालिकासहित चार जनामाथि स्यालले आक्रमण गरेको थियो ।

स्यालको आक्रमणबाट हालसम्म तीन दर्जनभन्दा बढी पशुचौपाया घाइते भएका छन् । पछिल्लो घटनामा स्थानीय ३० वर्षीया शर्मिला मैनाली, ३५ वर्षीया सावित्रा कुमारी मैनाली, ५७ वर्षीया देवमाया शिवाकोटी र दुई वर्षीया गोपिकाकुमारी महतो घाइते हुनुभएको छ । घर वरपर काम गरिरहेको अवस्थामा स्यालले आक्रमण गर्दा उहाँहरूको हात, खुट्टालगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जनाइएको छ ।

नगरपालिकाका वडा नं १, ६ र ८ स्यालको आक्रमणबाट बढी प्रभावित भएका छन् । वनक्षेत्र नजिकै रहेका बस्तीमा दिउँसै स्याल प्रवेश गरी मानिस तथा पशुचौपायालाई आक्रमण गर्न थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत डर लाग्ने अवस्था सिर्जना भएको स्थानीय रमेश लामाले बताउनुभयो ।

स्यालको आक्रमणका घटना बढेपछि नियन्त्रणका लागि डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको नगरप्रमुख रमेश बुडाथोकीले बताउनुभयो । “केही दिनयता स्यालले नगर क्षेत्रका केही गाउँमा समस्या सिर्जना गरेको छ,” उहाँले भन्नुभयो, “वन कार्यालय र प्रहरी प्रशासनलाई जानकारी गराई स्याल नियन्त्रणका लागि आवश्यक पहल गर्न आग्रह गरेका छौँ ।”

स्यालको टोकाइबाट घाइते भएका मानिस तथा पशुचौपायामा रेबिज सङ्क्रमण हुन नदिन नगरपालिकाले प्रदेश सरकारसँग समन्वय गरी आवश्यक खोपको व्यवस्था गरिरहेको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला दिनमा स्वास्थ्यकर्मी तथा पशु चिकित्सकको टोली गाउँ-गाउँमा पुगेर घाइते मानिस तथा पशुचौपायाको उपचार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *