समुद्री आँधी ‘दुजुआन’ का कारण टोकियोमा २७५ उडान रद्द

एजेन्सी, ५ असाेज । शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ नजिकिँदै गएपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द गरिएको छ। जापान मौसम विज्ञान निकायले आँधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै केही क्षेत्रमा अभिलेख नै तोडिने गरी वर्षा हुनसक्ने जनाएको छ।

आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटर पुगेको छ। टोकियोनजिकैको चिबा क्षेत्रमा चार हजारभन्दा बढी घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ भने अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान स्थगित गरेको छ। टोकियो तथा आसपासका केही रेल सेवा पनि प्रभावित भएका छन्।

आँधीका कारण ‘टोकियो गेम शो’को अन्तिम दिनको कार्यक्रम र चिबामा आयोजना हुने सांगीतिक महोत्सव तथा बेसबल खेल समेत रद्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *