बालश्रम मुक्त स्थानीय तह

चन्द्रागिरि नगरपालिका ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणाको अन्तिम तयारीमा

काठमाडौँ,  पुस १० । काठमाडौँको चन्द्रागिरि नगरपालिका ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा हुने अन्तिम चरणमा पुगेको छ । योसँगै चन्द्रागिरि काठमाडौँ जिल्लाकै पहिलो बालश्रम मुक्त पालिका बन्ने देखिएको छ । नगर प्रमुख घनश्याम गिरीका अनुसार नगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्न आवश्यक सम्पूर्ण प्रक्रिया र तयारी पूरा भइसकेको छ । यसै सिलसिलामा बुधबार नगर प्रमुख गिरीकै अध्यक्षतामा सामाजिक समितिको बैठक बसी अन्तिम तयारीको समीक्षा गरिएको थियो । नगरपालिकाका कुल १५ वडामध्ये वडा नम्बर १२ बाहेक अन्य सबै वडा यसअघि नै बालश्रम मुक्त घोषणा भइसकेका छन् । आगामी हप्ता आयोजना हुने एक विशेष समारोहका बीच वडा नम्बर १२ सँगै सिङ्गो नगरपालिकालाई नै ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिने कार्यक्रम छ ।

चन्द्रागिरिले वि.सं. २०७९ असार २ गते वडा नं १४ बाट ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रम मुक्त समाजको निर्माण गरौँ’ भन्ने नाराका साथ यो अभियान सुरु गरेको थियो । त्यसयता चरणबद्ध रूपमा विभिन्न मितिमा अन्य वडाहरूलाई बालश्रम मुक्त घोषणा गर्दै चालु आर्थिक वर्षभित्रै सम्पूर्ण नगरलाई बालश्रम मुक्त बनाउने लक्ष्य नगरपालिकाले राखेको थियो ।

नगर प्रमुख गिरीले भन्नुभयो, “हामी नगरपालिकामा बाल संरक्षण र बाल अधिकारको सुनिश्चितता गर्दै बालमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध छौँ। बजेट विनियोजन र विभिन्न सचेतनामूलक गतिविधिको परिणामस्वरुप हामी घोषणाको यो ऐतिहासिक चरणमा आइपुगेका हौँ ।”

नगरपालिकाले ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५-२०८५)’, ‘बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’ र ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ को मार्गनिर्देशनअनुसार विभिन्न ३९ वटा सूचकहरू पूरा गरेको छ । सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले घोषणापछि पनि यसको दिगोपनका लागि विभिन्न सङ्घसंस्थासँगको सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो  ।

महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठले नगर कार्यपालिका, विद्यालय, बालक्लब, उद्योगी र सङ्घसंस्थाहरूको सामूहिक प्रयासले यो सफलता सम्भव भएको जानकारी दिनुभयो । यस अभियानमा बाल विकास समाज र वल्ड भिजन इन्टरनेशनल नेपाल लगायतका संस्थाहरूले प्राविधिक एवं सामाजिक सहयोग पुर्‍याएका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को तथ्याङ्कअनुसार नेपालमा ११ लाख बालबालिका अझै पनि श्रममा संलग्न रहेको पृष्ठभूमिमा चन्द्रागिरि नगरपालिकाको यो कदमलाई बाल अधिकार सुनिश्चितताको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। हालसम्म देशभरका ६ वटा स्थानीय तह मात्र बालश्रम मुक्त घोषणा भएका छन् ।