मेहनत अनुसारको ज्याला नपाएपछि धादिङका महिलाले छाडे गलैँचा बुन्न
धादिङ, १० पुस । धादिङको नीलकण्ठ नगरपालिका–८ ज्यामिरेकी देवकी श्रेष्ठले ठूलो उत्साहका साथ एक वर्षअघि तीन महिनाको तालिम लिएर गलैँचा बुन्न सुरु गर्नुभयो । घरमै तान हालेर काम थालेकी उहाँले अहिले सो पेसा नै छाड्नुभएको छ । कारण हो– दिनरातको मेहनत अनुसारको ज्याला नपाउनु ।
“राम्रै आम्दानी होला भनेर तालिम लिएर गलैँचा बुन्न थालियो,” देवकीले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “एउटा गलैँचा बुन्न तीन सातासम्म लगातार खट्नुपर्छ, तर बुनेको ज्याला जम्मा पाँचदेखि सात हजार रुपैयाँ मात्र पाइन्छ ।” सुरुमा सिक्दै गर्दा ढिलो भएको ठाने पनि पछि सीप निखारिँदा समेत मेहनत अनुसारको फल नमिलेपछि उहाँले काम छाड्ने निर्णय गर्नुभयो ।
ज्यामिरे र रामकोट क्षेत्रका महिलाहरूले गलैँचा बुन्न चासो देखाएपछि वडा कार्यालयले प्रशिक्षक राखेर तालिम मात्र दिएन, उनीहरूलाई तान समेत उपलब्ध गराएको थियो । तर, अहिले ती तानहरू वडा कार्यालयमा फिर्ता हुन थालेका छन् ।
रामकोटकी लक्ष्मी श्रेष्ठ भन्नुहुन्छ, “हामीले बुनेको एउटै गलैँचा विदेशमा २० देखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ भन्ने सुनेका छौँ, तर हामीले पाउने ज्यालाले दैनिक गुजारा चलाउनै मुस्किल हुन्छ ।”
गाउँमा गलैँचा उत्पादक कम्पनीका प्रतिनिधिहरू पुग्छन् । उनीहरूले नै धागो, कैँची, तान र बुट्टाको नक्शा घरमै पुर्याइदिन्छन् । कच्चा पदार्थ कहाँबाट आउँछ र तयार भएको गलैँचा कहाँ बिक्री हुन्छ भन्ने श्रमिकलाई थाहा हुँदैन । ज्याला पनि कम्पनीका प्रतिनिधिले नै तोक्छन् ।
मोटो धागोको एउटा गलैँचा १८ देखि २० दिनमा तयार हुन्छ, जसको ज्याला ५ देखि ७ हजार मात्र छ । मसिनो धागोको गलैँचा बुन्न ४० देखि ४५ दिन लाग्छ, जसको ज्याला १७ देखि १८ हजार रुपैयाँसम्म तोकिएको छ । एक वर्षअघि तालिम लिएका २० जनामध्ये १८ जनाले व्यावसायिक रूपमा काम थालेका थिए, तर अहिले सो सङ्ख्या घटेर ५ जनामा सीमित भएको छ ।
गलैँचा कम्पनीका प्रतिनिधि बुद्धसिंह तामाङका अनुसार कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र तयार गलैँचा पनि विदेशमै निर्यात गर्नुपर्ने भएकाले खर्च धेरै हुन्छ । ढुवानी र प्रशोधन खर्चका कारण श्रमिकलाई योभन्दा बढी ज्याला दिन नसकिने उहाँको दाबी छ ।
यता, घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख चुडामणि पुरी भने स्थानीय तहले पर्याप्त अध्ययनबिना हचुवाको भरमा बजेट खर्च गर्दा यस्तो समस्या आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजार र ज्यालाको सुनिश्चितता नगरी पहुँचको आधारमा तालिम र लगानी गर्दा प्रतिफल शून्य जस्तै देखिएको छ ।”
नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले भने महिलाहरूको मागकै आधारमा तालिम सञ्चालन गरिएको बताउनुभयो । हाल धादिङका नीलकण्ठ, नेत्रावती, गङ्गाजमुना, सल्यानटार लगायतका क्षेत्रमा गरी झण्डै ४ सयको हाराहारीमा गलैँचा श्रमिकहरू रहेका छन् ।