रोल्पा जीप दुर्घटना अपडेट: मृतकको सङ्ख्या २० पुग्यो
रोल्पा, १७ वैशाख । रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा बिहीबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उद्धार र खोजतलासका क्रममा घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले पुष्टि गरेको छ ।
रुकुम पूर्वबाट रोल्पाको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप सल्याप भन्ने ठाउँमा अनियन्त्रित भई भिरबाट करिब ८०० मिटर तल खसेको थियो । मृतकहरू वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेला भर्न हिँडेका तीर्थयात्रीहरू रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । उनलाई घटनास्थलबाट जीवितै उद्धार गरी आधारभूत जलजला अस्पताल, थवाङमा उपचारका लागि भर्ना गरिएको छ । उनको अवस्था र थप विवरणका बारेमा स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन् ।
दुर्घटनाको जानकारी पाएलगत्तै रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार भौगोलिक विकटता, वर्षा र रातको समय भएका कारण उद्धार र खोजी कार्यमा निकै कठिनाइ भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाएका २० जनाकै शव सङ्कलन गरिए पनि उनीहरूको पहिचान (सनाखत) हुन बाँकी छ । प्रहरीले मृतकहरूको पहिचान खुलाउन र आफन्तहरूलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।