उपप्रमुखको नेतृत्वप्रति अपाङ्ता भएका महिला उत्साहित

अपाङ्गता भएका महिलाको अधिकार र सम्मानका लागि प्रतिवद्ध भएको उपप्रमुख डंगोलको भनाइ

काठमाडौँ, पुस १३ । अपाङ्गता भएका महिलाहरुको अधिकार र सम्मानका लागि आफू प्रतिवद्ध रहेको बताउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, बजेट तर्जुमा समितिमा आउने माग र प्रस्तावहरुमा आफूले सर्वाङ्गीण विकासका आयाममा सामाजिक क्षेत्रका कार्यक्रम समावेश छन् कि छैनन् भनेर विशेष महत्वका साथ हेर्ने गरेको बताउनुभएको छ । नेपाल अपाङ्ग महिला संघको २५ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले भन्नुभयो, ‘व्यक्तिको शारीरिक अवस्था हेरेर क्षमता अनुमान गर्ने मनोविज्ञानमा रुपान्तरण चाहिएको छ ।’

‘अपाङ्गता भएका व्यक्तिहरुको पहुँच बढाएर समतामूलक समाज निर्माण गर्ने, आर्थिक अधिकार, हिँसाको रोकथाम र नियन्त्रण, प्रजनन अधिकार प्रदान गर्ने काम मेरो दायित्व भित्र छन् । म यी अधिकारको उपयोग गर्ने वातावरणका लागि काम गरिरहनेछु ।’ उहाँले थप्दै भन्नुभयो, ‘पदमा नरहे पनि मैले थालेका प्रयासहरुलाई बिचमा अलपत्र हुन दिन्न । आधारभूत अधिकारका लागि नियमित काम गरिरहनेछु ।’

त्यस अवसरमा अपाङ्गता भएका महिलाहरुले उहाँसँग कुरा गर्दै भन्नुभयो, ‘तपाईँको नेतृत्वबाट परिवर्तन प्रारम्भ भएको छ । यसलाई गन्तव्यमा पुर्‍याउनु हुनेछ भन्ने आशा गरेका छौँ ।’

त्यस क्रममा डंगोलले उपस्थित व्यक्तिहरुका जीवनका भोगाइ, भोगाइमध्येका पनि दुःखद अवस्था र त्यो अवस्थालाई माथि उकास्न कसको भूमिका कस्तो देख्नुहुन्छ? महानगरपालिकाले के गर्नुपर्छ भनेर व्यक्तिगत तहमा संवाद गर्नुभएको थियो । पीडा भोगेका व्यक्तिहरुको आवाज सुनेर त्यही आवाज सम्बोधन गर्नु आफ्नो जिम्मेवारी भएकोले उहाँहरुका सबै कुरा सुन्ने प्रयास गरेकी हुँ । संवादपछि उहाँको प्रतिक्रिया थियो ।