रास्वपाको बन्दसूचीमा ‘प्राइमरी’ उल्टियो, भूगोलमा चितवनकै रजाइँ: ४४ जिल्ला रित्तै, बाहिरी ‘कोटा’ को दबदबा
काठमाडौं, १५ पुस । आफूलाई वैकल्पिक राजनीति र आन्तरिक लोकतन्त्रको हिमायती दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची विवादमा तानिएको छ ।
पार्टीले गरेको ‘प्राइमरी इलेक्सन’ को नतिजालाई लत्याइएको र भौगोलिक सन्तुलन नमिलाई निश्चित जिल्ला र ‘कोटा’ का व्यक्तिहरूलाई प्राथमिकता दिएको तथ्य बाहिरिएको छ ।
रास्वपाले आफ्ना कार्यकर्ता र समर्थकबीच गराएको प्राइमरी इलेक्सनमा सर्वाधिक मत ल्याउने उम्मेदवारहरू बन्दसूचीको प्राथमिकता क्रममा निकै पछाडि धकेलिएका छन् । पार्टीले प्राइमरीको नतिजालाई ५० प्रतिशत मात्र भार दिने र बाँकी ५० प्रतिशत नेतृत्वले निर्णय गर्ने नीति लिँदा लोकप्रिय अनुहारहरू मारमा परेका हुन् ।
प्राइमरीमा खस-आर्य पुरुषतर्फ सबैभन्दा बढी मत ल्याएका रमेश प्रसाईंलाई पाँचौँ स्थानमा पुर्याइएको छ । उनको ठाउँमा सहमहान्त्री विपिन आचार्यलाई पहिलो नम्बरमा राखिएको छ । त्यस्तै, महिलातर्फ सर्वाधिक मत ल्याएकी रञ्जु दर्शना १० औँ स्थानमा झारिएकी छन् ।
प्राइमरीमा जितेकाहरू आउट: आदिवासी जनजातितर्फ सर्वाधिक मत ल्याउने उत्तमबहादुर गुरुङ र दलिततर्फ पहिलो भएका विजय जैरु बन्दसूचीमै अटाएनन् ।
यसपटक रास्वपाको सूचीमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) को टिम र कुलमान घिसिङ निकट मानिने ‘उज्यालो नेपाल’ समूहको ठूलो प्रभाव देखिएको छ । यी समूहबाट आएका व्यक्तिहरूलाई कुनै प्राइमरी विना सिधै बन्दसूचीको माथिल्लो स्थानमा राखिएको छ ।
रास्वपाको समानुपातिक सूचीमा चरम भौगोलिक असन्तुलन देखिएको छ । ७७ जिल्लामध्ये ४४ जिल्लाबाट एक जना पनि उम्मेदवार समेटिएका छैनन् ।
सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट मात्रै २१ जना समानुपातिक उम्मेदवार बनाइएका छन् । त्यस्तै मोरङ जिल्लाबाट १५ जनाले सूचीमा स्थान पाएका छन् ।
प्रदेशगत अनुसार कोशीका ४, मधेशका ३, बागमती र गण्डकीका ७-७, लुम्बिनीका ८, कर्णालीका ७ र सुदूरपश्चिमका ८ वटा जिल्लाको प्रतिनिधित्व शून्य छ । काठमाडौं, सिरहा, सप्तरी र सुनसरीबाट ५-५ जना मात्र समेटिएका छन् ।