गुल्मीमा वनभोज हिँडेको स्कुल बसको ठक्करबाट देवर–भाउजूको मृत्यु, बालक र शिक्षिका घाइते
गुल्मी, १८ पुस । गुल्मीको मालिका गाउँपालिकामा शुक्रबार बिहान भएको भीषण सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । विद्यार्थी बोकेर वनभोज (पिकनिक) का लागि हिँडेको बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा देवर र भाउजूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी ५६ वर्षीया भाउजू मनकला अर्याल रहेका छन् ।
राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाको पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख ०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका अर्यालद्वयलाई तत्काल उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मृतक मनकलाका ६ वर्षीय नाति अनुभव गिरी र पैदल यात्री एवं जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका ४१ वर्षीया लिलावती अर्याल रहेका छन् ।
घाइते बालक अनुभवको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । शिक्षिका अर्यालको भने गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वनभोजको खुसीयाली बोकेर हिँडेको बस दुर्घटनामा परेपछि विद्यालय परिवार र मृतकका आफन्तहरू यतिबेला शोकमा डुबेका छन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।