नेकपा (एमाले) सचिवालय बैठक आज बस्दै: चुनाव र केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल हुने
काठमाडौँ, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज (मङ्गलबार) बस्ने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।
एमालेका सचिव भानुभक्त ढकालका अनुसार आजको बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थिति, आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी तथा पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकबारे गहन छलफल हुनेछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेकाले एमालेले आफ्नो चुनावी रणनीति बनाउन सचिवालय बैठक बोलाएको हो ।
यस्तै, आगामी पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना हुने एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी र प्रस्तुत गरिने एजेन्डाहरूलाई पनि आजको बैठकले अन्तिम रूप दिनेछ । पार्टीको साङ्गठनिक सुदृढीकरण र आगामी निर्वाचनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने विषयमा पनि शीर्ष नेताहरूबीच संवाद हुने बताइएको छ ।