राष्ट्रियसभा निर्वाचनः १८ सदस्यका लागि आज उम्मेदवारी मनोनयन, १० देखि ३ बजेसम्मको समय
काठमाडौँ, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (बिहीबार) मुलुकभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार रिक्त १८ सदस्य पदका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ।
आयोगले यसअघि नै निर्वाचनका लागि आवश्यक प्रशासनिक र कानुनी तयारी पूरा गरिसकेको छ। पुस १९ गते मतदाता नामावली प्रकाशन गरी मङ्गलबार दाबी-विरोधपछि अन्तिम नामावली सार्वजनिक भइसकेको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि (पुस २४) गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ भने पुस २७ गते नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका लागि यो निर्वाचन हुन लागेको हो।
यस निर्वाचनमा प्रदेशसभा सदस्यहरू र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्नेछन्। आयोगले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कका आधारमा नयाँ मतभार सार्वजनिक गरिसकेको छ।