ललितकलाका विद्यार्थी फेर्दैछन् दिक्तेल बजारको मुहार
काठमाडौँ, पुस २४ । खोटाङको मुख्य व्यापारिक केन्द्र दिक्तेल बजार यतिबेला रङ्गीन बन्दैछ । काठमाडौँको ललितकला क्याम्पसबाट आएका १० जना मेधावी विद्यार्थीहरूले दिक्तेलका भित्ता, चोक र गल्लीहरूलाई कलात्मक क्यानभासमा रूपान्तरण गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सघाउन यी युवा कलाकारहरू यतिबेला कुची र रङ बोकेर बजारका घर-घरमा पुगेका हुन् ।
ललितकला क्याम्पसका स्ववियु सभापति आशिष पौडेलको नेतृत्वमा आएको टोलीले पुस २१ गतेदेखि बजारका विभिन्न चोक तथा व्यक्तिका घरका भित्ताहरूमा स्थानीय पहिचान झल्कने चित्रहरू कोर्न थालेको छ । १० दिनसम्म चल्ने यो कार्यशालाले दिक्तेललाई एक ‘नमूना बजार’का रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
नगरपालिकाको ‘सौन्दर्यकरण अभियान’लाई सार्थक बनाउन काठमाडौँबाट आए १० कलाकार; स्थानीय विद्यार्थीलाई समेत सिकाउँदै चित्रकला
नगरपालिकाले यो अभियानमार्फत कला र संस्कृतिको संरक्षण मात्र नभई पर्यटकीय आकर्षण बढाउने योजना बनाएको छ । नगरप्रमुख तीर्थराज भट्टराई भन्नुहुन्छ, “दिक्तेललाई एउटा नमूना र सुन्दर बजार बनाउने हाम्रो संकल्प हो । ललितकलाका विद्यार्थीहरूले यहाँको कला र संस्कृतिलाई भित्तामा उतारेपछि यसले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्नेछ ।”
विशेष गरी नेवार समुदायको बाहुल्यता रहेको शान्ति टोलमा नेवारी संस्कार र संस्कृति झल्कने चित्रहरू बनाइएको छ । स्थानीयवासी एवं नेवाः दय् दवू दिक्तेलका अध्यक्ष सुमन श्रेष्ठका अनुसार टोलको विशेषताअनुसारका चित्रले स्थानीयमा समेत उत्साह थपेको छ ।
‘कला, साहित्य र वातावरण संरक्षण हाम्रो परिकल्पना’ भन्ने नाराका साथ आएका विद्यार्थीहरू चित्र बनाउनमा मात्र सीमित छैनन् । उनीहरूले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत चित्रकलामा रुचि भएका विद्यार्थीहरूलाई समेत आधारभूत कला र प्रविधि सिकाउँदैछन् । यसले स्थानीय स्तरमा कलाकारिताको जग बसाल्न मद्दत पुग्ने प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताउनुभयो ।
महोत्सव अवधिभर कलाकारहरूको खानपान, बसोबास र चित्रकलाका लागि आवश्यक सामग्रीको व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाले यसअघि पनि ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशाला’ आयोजना गरी २१० वटा चित्रहरू क्यानभासमा उतारेर कलाप्रतिको आफ्नो प्रतिबद्धता देखाइसकेको छ । पुस ३० गतेसम्म चल्ने यो अभियानले दिक्तेललाई नेपालकै एक सुन्दर र कलात्मक सहरका रूपमा चिनाउने अपेक्षा गरिएको छ ।