देउवालाई गगन-विश्वप्रकाशको अल्टिमेटम: ‘सहमतिको नाममा नेतृत्व छोड्नुस्, नत्र निर्वाचन हुन्छ’

काठमाडौँ, २९ पुस । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेका बेला संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच बालुवाटारमा निर्णायक वार्ता सुरु भएको छ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूह र सभापति शेरबहादुर देउवा पक्षबीच सहमतिको खोजीका लागि छलफल भइरहेको हो।

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्। यस्तै, संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा मध्यमार्गी भूमिकामा देखिएका डा. शेखर कोइराला पक्षबाट जीवन परियार र डा. मिनेन्द्र रिजाल सहभागी छन्।

सभापति देउवाले विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै यसअघि भृकुटीमण्डपको कार्यक्रम बहिष्कार गरेका थिए। ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित नीति र नेतृत्व परिवर्तनको एजेन्डा अघि सारिएपछि देउवामाथि दबाब बढेको छ।

विशेष पक्षले वार्तामा मुख्य तीनवटा सर्त अघि सारेको छ:
१. विशेष महाधिवेशनलाई पार्टी नेतृत्वले अपनत्व ग्रहण गर्नुपर्ने।
२. यहाँ प्रस्तुत गरिएका नीतिगत प्रतिवेदनलाई पार्टीको आधिकारिक दस्तावेज मान्नुपर्ने।
३. सभापति देउवाले राजीनामा दिनुपर्ने, सक्रिय राजनीतिबाट सन्यास लिनुपर्ने वा आगामी निर्वाचनमा टिकट वितरणको अधिकार (हस्ताक्षर) छोड्नुपर्ने।

यदि यी सर्तहरूमा सहमति नभए विशेष महाधिवेशनको बन्द सत्रबाटै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी महामन्त्री पक्षको छ। आजको वार्तापछि कांग्रेस कुन दिशामा अघि बढ्छ भन्ने टुङ्गो लाग्ने नेताहरूले बताएका छन्।