जापानमा ६० वर्षयताकै भीषण वर्षा: बाढी र पहिरोमा परी ९ जनाको मृत्यु, हजारौँ घर डुबानमा
एजेन्सी, ३१ साउन । पूर्वी जापानमा गत बिहीबारदेखि जारी मुसलधारे वर्षा र त्यसपछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । जापानी सार्वजनिक सञ्चार माध्यम एनएचकेका अनुसार अभूतपूर्व वर्षाले जनजीवन पूर्ण रूपमा प्रभावित बनाउनुका साथै ठूलो भौतिक क्षति पुर्याएको छ ।
जापानको चिबा प्रिफेक्चर वर्षाबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँको मौसम मापन केन्द्रले २४ घण्टामा ३० सेन्टिमिटर (१२ इन्च) सम्म वर्षा रेकर्ड गरेको छ, जुन विगत ६० वर्षयताकै अगस्ट महिनाको उच्च वर्षा हो । भूमि मन्त्रालयका अनुसार चिबा सहरमा अगस्ट महिनाभरि हुने औसत वर्षाभन्दा तीन गुणा बढी पानी केही घण्टामै परेको थियो ।
विपद् व्यवस्थापन कार्यालयका अनुसार मृतकमध्ये केही व्यक्तिहरू डुबानमा परेका सवारीसाधनभित्रै मृत अवस्थामा फेला परेका थिए भने केही सडकमा बगेका थिए । बाढीका कारण सडकमा करिब १ हजार २०० सवारीसाधनहरू अलपत्र परेका छन्, जसलाई हटाउन अधिकारीहरूले क्रेन र ज्याकको प्रयोग गरिरहेका छन् ।
बाढी र पहिरोले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । १ हजारभन्दा बढी घरहरू डुबानमा परेका छन् । ६०० भन्दा बढी घरको भुइँ तलाभन्दा माथिसम्म पानी पसेको छ भने ७० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । वर्षासँगै विद्युत् आपूर्ति ठप्प भएको छ भने रेल र सडक यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेका छन् ।
जापानी मौसमविद्हरूले पहिलोपटक चिबा क्षेत्रका लागि ‘अभूतपूर्व वर्षा’ को उच्च तहको चेतावनी जारी गरेका थिए । वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले गर्दा पछिल्ला वर्षहरूमा यस्ता चरम मौसमी घटनाहरू बारम्बार र तीव्र रूपमा दोहोरिन थालेका छन् । अधिकारीहरूले अझै पनि पहिरोको जोखिम कायम रहेकाले सुरक्षित स्थानमा रहन र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।