जाजरकोट पहिरो अपडेट: मृतकको सङ्ख्या ३ पुग्यो, २ जना अझै बेपत्ता, ८ घरमा क्षति

जाजरकोट, ३१ साउन । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि खसेको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। शनिबारको पहिरोमा पुरिएकामध्ये दुई जनाको शव फेला परेको छ भने एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। पहिरोमा अझै दुई जना बेपत्ता छन्।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पहिरोमा पुरिएर घाइते भएका ५२ वर्षीय केदार कार्कीको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। यस्तै, बेपत्ता भएकामध्ये ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव घटनास्थलमा फेला परेको छ।

पहिरोमा परी ७० वर्षीय भमीबहादुर कार्की र १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएर अन्य सात जना घाइते भएका छन्। घाइते हुनेहरूमा: रामबहादुर शाही (६२ वर्ष), भद्रकला कार्की (६१ वर्ष), सिद्धिबहादुर कामी (४५ वर्ष), सुन्तली चदरा (४५ वर्ष), कमला कार्की (५८ वर्ष), अनिता कार्की (२३ वर्ष), युनिस शाही (१० वर्ष) रहेका छन् ।
घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ।

बेपत्ताहरूको खोजीका लागि आइतबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले घटनास्थलमा उद्धार कार्य गरिरहेको छ।
पहिरोले रिसाङ क्षेत्रका ८ वटा घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ। वर्षा नरोकिएका कारण सो क्षेत्रमा थप पहिरोको जोखिम बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।