भदौका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक: औसत ४.१३ प्रतिशतमा झर्यो, ५ बैंकले घटाए
काठमाडौँ, ३१ साउन । वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा भदौमा बैंकहरूको औसत ब्याजदरमा केही गिरावट देखिएको छ ।
बैंकहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.१३ प्रतिशत कायम भएको छ । गत साउन महिनामा यस्तो ब्याजदर औसत ४.१६ प्रतिशत थियो । यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ३.११ प्रतिशतबाट घटेर भदौका लागि ३.०८ प्रतिशत विन्दुमा झरेको छ ।
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले मात्रै ब्याजदर घटाउने निर्णय गरेका छन् भने बाँकी १५ बैंकले साउनकै दरलाई निरन्तरता दिएका छन् ।
ब्याजदर घटाउने बैंकहरू: सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक ।
स्थिर राख्ने बैंकहरू: नबिल बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायत १५ बैंक रहेका छन् ।
ब्याजदर घटाउने बैंकहरूमध्ये सिद्धार्थ बैंक र स्ट्याण्डर्ड चार्टर्डको दर तुलनात्मक रूपमा न्यून देखिएको छ । १५ वटा बैंकले साउनकै दर कायम राखेकाले साउनमा कुन बैंकले बढी ब्याज दिएका थिए, सोही बैंकमा नै भदौमा पनि बढी ब्याज पाइने देखिएको छ ।
प्रायः बैंकहरूमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ देखि ५ प्रतिशतको बीचमा रहेको छ । बैंकहरूमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएको तर कर्जाको माग सोचेअनुरूप नबढेका कारण बैंकहरूले ब्याजदरलाई तल झार्ने रणनीति लिएको आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् ।